•  अनिल श्रेष्ठ

विराटनगर /  प्रदेश १ मा ७१ प्रतिशत कोरोना सङ्क्रमित भारतबाट आएका नेपालीहरूमा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा मङ्गलबारसम्म ८ सय २२ जनामा कोरोना सङ्क्रमित देखिएकामध्ये ५ सय ८४ जना भारतबाट आएका नेपाली कोरोना सङ्क्रमित देखिएका हुन् ।
१७ प्रतिशत तेस्रो मुलुकबाट आएका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

१ सय ३३ जना तेस्रो मुलकबाट आएकामा र ५१ जनामा विदेशबाट आएकाले स्थानीय समुदायमा सङ्क्रमण सारेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५४ जना सङ्क्रमितको कन्ट्याक्ट टे«सिङको क्रममा रहेको बताएको छ । कुवेतबाट आएका ४९ जनामा पनि सङ्क्रमण देखिएको छ । यस्तै ओमनबाट आएका ७, कतारबाट आएका ११, साउदीबाट आएका ४० जनामा कोरोना सङ्क्रमण देखिएको हो । यस्तै दुबईबाट आएका १२, बहराइनबाट आएका ७, मलेसियाबाट आएका ३, माल्दिभ्सबाट आएका २ र पाकिस्तानबाट आएका १ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार प्रदेश १ मा ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये सुनसरीको धरानका ४ पुरुष, मोरङको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथीभराका १ पुरुष र झापाको शिवसताक्षीका १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । ३ जना डिस्चार्ज भएका छन् । बुधबारसम्म प्रदेशमा ८ सय ३५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सङ्क्रमण देखिएकामध्ये ७ सय १३ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिले प्रदेश १ का विभिन्न आइसोलेन सेण्टरमा १ सय २२ जना उपचाररत छन् ।
प्रदेश १ मा हालसम्म १ जना वृद्धको मृत्यु भएको छ । मृत्यु भएका व्यक्ति सप्तरीका हुन् । उनको धरानमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
प्रदेशमा बुधबारसम्म ३६ हजार ७ सय ६६ जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ८ सय ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३५ हजार ९ सय ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमित भएकाहरूको उपचारका लागि ७ वटा आइसोलेसन केन्द्रहरू रहेका छन् ।

नेपालमा अहिलेसम्म देखिएको सङ्क्रमणको अवस्था हेर्दा अधिकांश भारतबाट आएको देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । ‘न्यून सङ्ख्यामा मात्र स्थानीय सङ्क्रमित देखिन्छ’ उनले भने, ‘भारतमा जति पत्ता लागेको छ, त्यसको तुलनामा त्यहाँ सङ्क्रमितको सङ्ख्या धेरै कम रहेको छ । प्रदेश १ मा देखिएको सङ्क्रमित जति छन्, त्यसको ठूलो हिस्सा आयातित हो भन्नेमा त दुईमत रहेन । तिनैबाट केही स्थानीयस्तरमा फैलिएको थियो । त्यो अहिले नियन्त्रणमा आएको छ ।’

क्वारेण्टिन बस्नेको सङ्ख्या घट्दै
१४ जिल्ला रहेको प्रदेश १ मा ८ सय ८७ वटा क्वारेण्टिन निर्माण गरिएको छ । सो क्वारे(िण्टनमा २१ हजार ६ सय ८२ जना रहेकामध्ये अहिले बस्नेको सङ्ख्या घट्दै गएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार बुधबार बिहानसम्म २ हजार ४३ जना क्वारेण्टिनमा रहेका छन् । भारत र तेस्रो मुलुकबाट आएकाहरूलाई क्वारेण्टिनमा राख्ने गरिएको छ ।

प्रदेश प्रहरीले दिएको जानकारीअनुसार भारतबाट आउनेभन्दा जाने बढिरहेका छन् । प्रदेश १ का चार नाकाबाट १९ हजार १ सय १३ जना आए भने सोही नाका हुँदै नेपालबाट २८ हजार १ सय १३ जना गएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले जानकारी दिए ।