धरान  / धरान–१७ स्थित एन्फा टेक्निकल सेण्टरको क्वारेण्टिन भवनमा बस्दै आएकामध्ये चारजना पुरुषको पिसिआर जाँचको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरू सबै विदेशबाट आएर एन्फा क्वारेण्टिनमा बसेका थिए ।  
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार साउन ४ गते एन्फा क्वारेण्टिनमा बसेका ४८ जनाको स्वाब सङ्कलन गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । तीमध्ये चार जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि भएका चारैजनालाई प्रतिष्ठानको आइसोलेसन सेण्टरमा पठाइएको छ भने बाँकी ४४ जनाको रिपोर्ट नेगेटिभ आएकाले घर पठाउने तयारी भइरहेको मेहताले बताए । कोरोना सङ्क्रमण देखिएका पुरुषहरूमा बहराइनबाट आएका तीन जना र साउदी अरबबाट आएका एकजना छन् । उनीहज्ञ सबैको घर धरान हो ।

विश्वमा कोेभिड–१९ को कहर लगातार बढिरहेको छ । नेपालमा ४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभरबाट १ सय ५० जना कोरोना सङ्क्रमित थपिएका छन् भने ६ सय ९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा २७ प्रयोगशालामा ३ हजार ९ सय ६३ जनाको परीक्षण गर्दा १ सय ५० जना नयाँ सङ्क्रमित थपिएका हुन् । थपिएकास“गै नेपालमा सङ्क्रमितको सङ्ख्या १७ हजार ९ सय ९४ जना पुगेको छ । आइसोलेसनमा रहनेहरूको सङ्ख्या ५ हजार ४ सय ७७ जना रहेको छ भने कुल डिस्चार्जको सङ्ख्या १२ हजार ७ सय ७७ र क्वारेण्टिनमा बस्नेहरूको सङ्ख्या २१ हजार ७ सय ४ जना रहेको छ ।

यसैगरी विश्वमा सबैभन्दा बढी अमेरिकामा यसको लहर चलिरहेको छ । विश्वमा हालसम्ममा ६ लाख १० हजार १ सय ४९ जनाको मृत्यु भइसकेको छ भने १ करोड ४७ लाख १४ हजार ५ सयजना सङ्क्रमित भएका छन् । विश्वमा ८३ लाख ५ हजार ३ सय २६ जना निको भएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अमेरिकामा १ लाख ४० हजार ९ सय ९ जना, ब्राजिलमा ८० हजार १ सय २०, बेलायतमा ४५ हजार ३ सय ९७, मेक्सिकोमा ३९ हजार ४ सय ८५, इटलीमा ३५ हजार ५८, फ्रान्समा ३० हजार १ सय ८०, स्पेनमा २८  हजार ४ सय २२ र भारतमा २८ हजार ८४ जनाको मृत्यु भइसकेको छ ।