२०३६ सालमा अनेरास्ववियुबाट कम्युनिष्ट आन्दोलनमा लागेका इटहरीका केशव विष्टले पछिल्लो समय इटहरीमा पार्टीभित्र र खेलकुद क्षेत्रमा चर्चामा आइरहने नाम हो । विद्यार्थी आन्दोलन छाडेर २ वर्ष विदेश गएका विष्ट २०५३ सालदेखि इटहरीमा युवासङ्घ हुँदै ०५५ सालदेखि पार्टीको राजनीतिमा सक्रिय हुँदै आए । चलचित्र क्षेत्रमा काम गर्दा उनी जनसांस्कृतिक मञ्चमा पनि रहेर काम गरे । विद्यार्थी, युवा सङ्गठन, कर्मचारी फाँट हुँदै खेलकुद क्षेत्रमा काम गरेका विष्टले राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवको जिम्मेवारी चार वर्ष पूरा गरे । त्यसै क्रममा इटहरीमा खेलकुदको लागि राम्रै आर्थिक लगानीसमेत भित्र्याए । सदस्य–सचिवको जिम्मेवारी सकिएपछि उनी अहिले प्रदेशस्तरीय इटहरी नगर इञ्चार्जको जिम्मेवारीमा सक्रिय छन् । नेकपा पार्टी एकीकरण नहुँदै र भएपछिका समयमा पनि पनि इटहरी अन्तरविरोध हुँदै आएको छ । केन्द्रको गुटगत राजनीतिले पनि इटहरीको राजनीतिलाई प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । यस्तै अन्तरविरोधका बीच इटहरीको इञ्चार्ज भएपछि पार्टी एकता र इटहरीको समृद्धिका लागि के के कामहरू भए त ? यसै विषयमा केन्द्रित रहेर ब्लाष्ट टाइम्स दैनिकका लागि बाबुराम सुवेदीले गरेको कुराकानीको सार–

तपाईं नेकपा इटहरीको इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । इटहरी उपमहनगरको नेतृत्व पनि तपाईकै पार्टीका प्रतिनिधि हुनुहुन्छ । इटहरीको समृद्धिको लागि यहाँले के प्रयास गर्दै हुनुहुन्छ ?
–मैले प्रदेशबाट इटहरी इञ्चार्जको जिम्मेवारी पाएपछि यहाँको पार्टी एकता र इटहरीको समृद्धिको लागि केही काम थालनी गरेको छु । म राष्ट्रिय प्रतिनिधि पार्षद्समेत रहेकोले मलाई नगर इञ्चार्जको जिम्मेवारी दिइएको छ । पार्टी अहिले पनि एकीकरणको प्रक्रियामै छ । यहाँभित्र केही समस्या देखेर पनि मलाई जिम्मेवारी दिइएको हो । पार्टीभित्र समस्या छन् । भावनात्मक एकीकरण हुन अझै बाँकी छ । यहाँका जनप्रतिनिधिहरूको पनि केही मनोमालिन्यता र विवादहरू थिए । अलिकति अराजकता, अनुशासनहीनता, स्वेच्छाचारी खालका प्रवृत्ति हाम्रा जनप्रतिनिधि र पार्टी नेतृत्वमा थियो । त्यो हामी सबैले महसुस गरेको कुरा हो । यस्तो अवस्थामा नगरलाई एकताबद्ध बनाएर काम गर्न पार्टीले मलाई जुन जिम्मेवारी दियो, त्यो केही पूरा हुन थालेका छन् । यस्ता समस्या समाधानमा मेरो पहलमा पार्टीभित्र र जनप्रतिनिधिबीच छलफल चलायौं । छलफलपछि एक प्रकारको सहमति बन्यो ।

अहिले पार्टी र जनप्रतिनिधिमा विवाद छैन त ?
–यहाँ विवाद नै छैन भन्ने होइन । तर, पनि जुन स्थितिको पहिलाको अवस्था थियो, अहिले त्यो कम हुँदै गएको छ । यसको लागि मैले सबैसँग छलफल गरेँ, असन्तुष्टिहरू भन्ने अवसर दिएँ । पार्टीको निर्देशनभित्र जनप्रतिनिधिहरू आउनुभएको हो । उहाँहरू पनि पार्टीले सहयोग नगरेको गुनासो गर्दै हुनुहुन्थ्यो । तर, मैले यी समस्या समाधानको लागि छलफल गरी निकास निकाल्ने काम गरेको छु । जसको कारण अहिले इटहरीका केही हाम्रा पार्टीका जनप्रतिनिधिहरू जुन हिसाबले विवादमा आउनुहुन्थ्यो । त्यसमा कमी भएको छ । हिजो घोषणा–पत्रमा लेखिएका कुराहरू कसरी पूरा गर्ने भन्नेतिर जनप्रतिनिधिको ध्यान मोडिएको छ । उदाहरणको लागि अहिले इटटहरी उपमहागनरपालिकाको बजेट नीति तथा कार्यक्रममा समावेश भएका विषयहरूले पनि यहाँको समस्या समाधान हुँदैछ भन्ने कुरा देखाउँछ । यस पटकको बजेटमा यहाँका पिछडिएका समुदायलाई लक्षित गरी बजेट आएको छ । जनप्रतिनिधिमा विवाद छैन । पार्टीको निर्देशनअनुसार जनप्रतिनिधिहरूले काम गर्ने वातावरण बन्दै गएको छ ।

इटहरीको समृद्धिको लागि यहाँले दिनुभएको सुझाव के हो ?
–बजेट भनेको हामीले बनाउने होइन । शीर्षकका रूपमा बजेट बन्ने हो । कतिपय बजेट हामीले त के जनप्रतिनिधिले पनि चलाउनै मिल्दैन । तर, पनि बजेटको केही प्रतिशत बजेट जनप्रतिनिधिले निर्धारण गर्न सक्छ । यसभन्दा अघि पार्टीमा जनप्रतिनिधिले पार्टीलाई नसोधी बजेट बनाएको गुनासो थियो । अहिले त्यो समस्या हटेको छ । हामीले जनप्रतिनिधिलाई भनेका छौं कि पार्टीको घोषणा–पत्रमा भएका विषयलाई समेटेर लैजानुहोस् । यहाँका गरिब र पिछडिएका वर्गका आवश्यकता पूरा गर्ने बजेट बन्नुपर्छ भन्यौं । अहिले त्यो भएको छ । कम्तिमा घोषणा–पत्रलाई सिरानीमा राखेर बजेट बनाउनु पर्ने कुरामा हाम्रो जोड हो । यस पटकको बजेटमा त्यो पूरा भएको छ । सबै विषयलाई यसै पटक समेट्न नसकिए पनि क्रमशः त्यो विषय पूरा गर्ने वातावरण बनाएका छौं ।

नेकपा पार्टी नेतृत्वमा अहिले विवाद देखिएको छ । त्यसले इटहरीमा असर गरेको छैन ?
–पार्टी नेतृत्वमा विवाद हुँदा कार्यकर्तामा असर नपर्ने कुरै हुँदैन । असर गरेको छ । त्यसको मात्रा कति भन्ने कुराले फरक पार्दछ । पार्टी भनेको सिद्धान्त र निर्णयले चल्नु पर्छ । पार्टीको निर्णय र सिद्धान्त मान्दिनँ भन्न पाइँदैन । पार्टीमा गुट चलाएर न त पार्टीमा आकर्षण बढ्छ, न त समृद्धि नै ल्याउँछ । तर इटहरीमा केन्द्रको जस्तो गुट देखिएको छैन र खासै असर गरेको छैन । अनुमानका आधारमा को कता होला भन्न सकिएला । को कता भन्ने कुरा त चुनावको बेला न हो । भोलिका दिनमा आफू कहाँ कुन पदमा पुग्ने भन्ने विषयलाई लिएर अहिले नै गुटगत राजनीति इटहरीमा सम्भव छैन । पार्टी बलियो भयो भने भोलि जो जहाँ र जे जिम्मेवारी पाए पनि सफल बन्न सक्छ । मैले अहिले गरेको काम भनेको पार्टी एकता र इटहरीमा हाम्रा जनप्रतिनिधिले चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने वातावरण बनाउने हो । इटहरीमा पार्टीको सङ्गठन थप मजबुत भएको छ । मिडियामा आए जस्तो अन्तरविरोध पार्टीमा छैन ।

यहाँले राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा पनि चार वर्ष काम गर्नुभयो । राजनीतिमा पनि सक्रिय हुनुहुन्छ । तपाईंको पहिचान खेलकुद कि राजनीति ?
–मैले राजनीतिबाटै खेलुकदको जिम्मेवारी पाएको हो । पार्टीको निर्णयअनुसार नै मैले त्यो पद पाएको हो । पार्टीले दिएको जिम्मेवारी नै मैले पूरा गरेको हो । त्यो बेला म नेपाल खेलकुद महासङ्घको कार्यवाहक अध्यक्ष थिएँ । कार्यवाहक अध्यक्ष भएको नाताले पनि मलाई पार्टीले त्यो ठाउँमा सिफारिस गरेको हो । यतिबेला म त्यो पदबाट मुक्त छु । अहिले पार्टीले नगर इञ्चार्जको जिम्मेवारी दिएको छ । म यहाँ आएर आफ्नो क्षमताले भ्याएसम्म काम गरी नै रहेको छु । फेरि मेरो के बानी छ भने मलाई पार्टीेले जे जिम्मेवारी दिएको छ, त्यो एकोहोरो रूपमा पूरा गर्नतिर लाग्छु । पार्टीले परीक्षा लिँदा होस् वा जिम्मेवारी दिँदा होस् आजसम्म म अब्बल भएको छु । म युवा सङ्घमा हँुदा पनि मेरो जिम्मेवारी उत्कृष्ट ठहरिएको थियो । त्यो मेरो स्वभावले पनि सफलता हात परेको हो ।

तपार्इं राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव हुँदा इटहरीलाई के फाइदा भयो ?
–राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव हुँदा मैले इटहरीमात्रै हेर्ने कुरा भएन । तर, इटहरीमा त्यो बेलासम्म खेलकुदको लागि खासै केन्द्रको आँखा परेको थिएन । त्यसो त इटहरीको रङ्गशालाको जग्गा प्राप्तिको लागि म एक्लै अढाई वर्ष मन्त्रालय धाएको मान्छे । जब त्यो विषय क्याबिनेटमा गयो, त्यसपछि यहाँ आन्दोलन सिर्जना गरियो । त्यसले गर्दा इटहरीलाई खेलकुदको हब बनाउने प्रयास मेरो पहिल्यैदेखिको हो । त्यतिबेलासम्म यो जग्गामा ५–७ लाख रुपैयाँ मात्रै लगानी भएको थियो । खेलकुदको बजेट काठमाडौं बाहिर ल्याउन सजिलो थिएन । इटहरीमा १० लाखबाट शुरु गरेर म सदस्य–सचिवमा रहँदासम्म ३७ करोड रुपैयाँ जति बजेट ल्याउन सफल भएँ । नेपालमै एक मात्र इटहरीमा १५ वटा खेलको प्रतियोगिता र प्रशिक्षण गर्न सकिने रङ्गशाला बनेको छ ।

इटहरीको खास पहिचान चाहिँ के हुन सक्ला ?
–इटहरीलाई चिनाउनका लागि सम्भावना भएको क्षेत्र भनेको खेलकुद हो । समय लाग्ला त्यो सम्भव हुन्छ । यसअघि नै इटहरीलाई खेलकुदको सहरका रूपमा विकास गर्दा अन्तर्राष्ट्रिय सहयोग पनि जुट्थ्यो । त्यसको साथै इटहरी नेपालको तेस्रो सहरको रूपमा विकास हुनसक्छ । नेपालमा मेघासिटीका रूपमा हेर्ने हो भने इटहरी अबको २० वर्ष पुग्दा नपुग्दै नेपालको तेस्रो ठूलो सहर हुन्छ । पहिलो काठमाडौं, बुटवलपछि इटहरी र त्यसपछि बिर्तामोड ठूला सहरका रूपमा विकास हुनसक्छ । त्यसका लागि यहाँको नेतृत्वले योजना बनाउन जरुरी छ । चौकमा अशोक लगाएर मात्रै हरित नगरी हुन सक्दैन । बरु व्यापारिक सहर बनाउन सकिन्छ । यसले आम्दानी पनि हुन्छ । वातावरण बनाउनु पर्छ । ८–१० वटा सपिङमल खुल्ने वातावरण बनाउनु प¥यो । त्यसले गर्दा इटहरीलाई खेलकुदसँग जोडेर लैजाँदा उपयुक्त हुन्छ ।

प्रस्तुतिः बाबुराम सुवेदी