विराटनगर/ सुनसरीको इनरुवा अस्पतालमा पहिलोपटक एक जना गर्भवतीको प्रिभिसेस ‘सिजरियन’ को सफल शल्यक्रिया भएको छ । सुनसरी इटहरी नगरपालिका –१० की ३२ वर्षीया इन्द्रकुमारी राई चौधरीको शुक्रबार सफल शल्यक्रिया भएको हो ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक डा. बालकृष्ण साहको टिमले इन्द्रकुमारीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । इन्द्रकुमारीको पेटमा ४१ हप्ताको गर्भ रहेको थियो । यो उनको दोस्रो गर्भ हो । यसअघि पनि इन्द्रकुमारीको शल्यक्रिया गरी शिशुलाई जन्म दिएकी थिइन् ।

‘दोस्रो पटक पनि सोही ठाउँमा शल्यक्रिया गर्दा नवजात शिशुलाई जोखिम हुने गर्दछ’ उपचारमा संलग्न चिकित्सक डा. साहले भने, ‘जोखिम मोलेर हाम्रो टिमले इन्द्रकुमारीको सफल शल्यक्रिया गरेका छौं ।’ उनले ४ केजीको नवजात छोरालाई जन्म दिएकी छन् । आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. साहले बताए । स्वास्थ्य अवस्था सामान्य रहेकोले चार दिनपछि डिस्चार्ज हुने डा. साहको भनाइ छ । इनरुवा अस्पतालमा गतवर्षदेखि शल्यक्रिया शुरू भएको हो । हालसम्म ७३ जनाको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

करार अवधि थप्न निर्देशनालयमा पत्राचार
डा. साहलाई अस्पताल विकास समितिले गत जेठ २६ गते करारमा नियुक्त गरेको थियो । यही असार मसान्तमा उनको करार अवधि सकिएको छ ।

करारको म्याद अवधि सकिए पनि अस्पतालले डा. साहलाई यथावत् रूपमा कामकाज गर्न आग्रह गरेको कारणले अहिले सेवा प्रदान गर्दै आएका छन् । इनरुवा अस्पतालले डा. साहको करार अवधि थप गर्न बिहीबार प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश १ धनकुटालाई पत्राचार गरेको छ । म्याद थप भएर नआएसम्म यथावत् रूपमा कामकाज गर्न र सेवा सुविधाको हकमा विकास समितिको निर्णयअनुसार हुने अस्पतालले पठाएको पत्रमा उल्लेख छ ।

इनरुवा अस्पतालमा सुनसरीकोे ग्रामीण क्षेत्रका स्थानीयले सेवा लिँदै आएका छन् । अस्पतालमा दैनिक १ सय ५० देखि २ सय जनाले स्वास्थ्य सेवा लिँदै आएको अस्पतालका निमित्त सुपरिटेण्डेण्ट सन्तोष राईले जानकारी दिए । डा. साहको करारको म्याद अवधि सकिएकोले पुनः म्याद थप गरी यथावत् रूपमा काम गर्न प्रदेशको स्वास्थ्य निर्देशनालयमा पत्राचार गरिसकेको जनाउँदै करार अवधि थप हुने उनले बताए ।