पाँचथर । पहिलोपल्ट आयोजना गरिएको विश्वब्यापी अनलाई पालाम् गायन प्रतियोगिताका उत्कृष्ट २० प्रतिश्पर्धी छानिएका छन् । आयोजक याक्थुङ कल्चरल ग्रुपले हालै फेसबुक पेज मार्फत् ‘साम्लो लुङ्धुङ’ चरणमा प्रवेश गर्ने २० जनाको नाम सार्वजनिक गरेको हो ।

यसअघि प्रतियोगितामा सहभागि ३५२ प्रतिश्पर्धीमध्येबाट ‘फक्ताङलुङ चरण’ का लागि ५० जना प्रतिश्पर्धीलाई छनौंट गरिएको थियो । फक्ताङलुङ चरणमा प्रवेश गर्ने ५० जनाबाट साम्लो लुङ्धुङ चरणका लागि २० जना छानिएको याक्थुङ कल्चरल ग्रपका संयोजक सीता तुम्खेवाले बताइन् । फेसबुक पेजमा पोष्ट गरिएको भिडियोमा प्राप्त प्रतिक्रिया र निर्णायक मण्डलको मूल्याङ्कनको आधारमा उत्कृृष्ठ २० छानिएको आयोजक संस्थाका सदस्य हाङ्सेम केरुङले बताए ।

अब साम्लो लुङ्धुङ चरणमा प्रवेश गर्ने २० जनाबाट ‘मेन्छ्यायेम चरण’ का लागि दश जना छनौंट हुने र तीमध्येबाट प्रथम, द्वितीय, त्रितीयको टुंगो लगाइने बताइएको छ । २२ साउनमा प्रथम, द्वितीय र त्रितीय घोषणा गरिनेछ । प्रतियोगितामा प्रथम हुनेले पालाम् रेकर्डको अवशर सहित नगद ५० हजार रुपैंयाँ प्राप्त गर्नेछ । द्वितीय हुनेले नगद ४० हजार रुपैंयाँ र त्रितीय हुनेले नगद ३० हजार रुपैंयाँ प्राप्त गनेछ ।

त्यस्तै उत्कृष्ट शब्द, उत्कृष्ट गैरलिम्बू, उत्कृष्ट जेष्ठ उमेर समूह र उत्कृष्ट कम उमेर समूह शीर्षकमा समेत एक–एक जनालाई जनही नगद दश हजार रुपैंयाँ पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।