पथरीशनिश्चरे/ मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा पहिलो पटक देशव्यापी खुला अनलाइन नाटक प्रतियोगिताका साथै नगरमै पहिलो नगरस्तरीय अनलाइन एकल लोकनृत्य प्रतियोगिताको फाइनल प्रतिष्पर्धा सोमबार सम्पन्न भएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको सन्दर्भ पारेर नगरपालिका अन्तर्गतको कला साहित्य प्रवद्र्धन समितिमार्फत शब्द थिएटरले नाटक र प्रवद्र्धन समितिको गीत संगीत एवम् नृत्य विभागबाट नृत्य प्रतियोगिता सञ्चालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले पुरस्कार वितरण गर्दै सृजनाको क्षेत्रमा नगरले सधैं प्रोत्साहन गरिरहने बताए ।

कोरोनाको लकडाउनको समयमा कोरोना सचेतनाकासाथ घरमै बसेर सृजन क्षमता बढाउने उद्धेश्य अनुरुप एभरेष्ट बोर्डिङ स्कुलमा सम्पन्न प्रतियोगिताको संयुक्त कार्यक्रममा उत्कृष्ठ ५ मा पर्न सफल दुवै विधाका भिडियोहरु प्रस्तुत गर्दै निर्णायकबाट पहिलो, दोस्रो र तेस्रो चुनिएको छ । आदिकवि भानुभक्त आचार्यको कृतिमाथि बनाइएको १० मिनटसम्मको नाटकको भिडियो प्रतियोगिताका लागि पठाउने प्रावधान बनाइएको थियो ।

२९ वटा नाटकमध्ये छानिएका उत्कृष्ठ ५ बाट मोरङकै झोराहाट नाट्य समूहको ‘बास’ नामक नाटक पहिलो बनेको छ । सुदिपजंग कार्कीको निर्देशन तथा अभिनयमा प्रदीप सरदार र अनु श्रेष्ठले साथ दिएका थिए ।

प्रतियोगितामा जुम्लाका गणेश उपाध्यायको निर्देशनमा उनको तेहेरो चरित्रको खस भाषाको नाटक दोस्रो भएको छ । क्रियटिभ एकेडेमी काठमाडौं किर्तिपुरको वितिसा महर्जनको एकल प्रस्तुतिको नाटक तृतीय भइ पुरस्कृत बन्न पुगेको छ । काठमाडौंका प्रभाकर न्यौपानेको निर्देशनको नाटक र पथरीशनिश्चरेका आकाश तिम्सिनाको निर्देशनको नाटक सान्त्वना भएको छ । प्रतियोगिताबाट छनौट पहिलो, दोस्रो र तेस्रो हुने नाटकलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद प्रदान गरिएको थिएटर निर्देशक जीवन बरालले जनाए । सान्त्वना २ नाटकलाई ३,३ हजार पुरस्कार प्रदान गरिएको छ । टाढा भएकासमूहलाई बैंकबाट पुरस्कार रकम पठाइएको छ ।

प्रतियोगितामा नगरका १९ वटा नृत्य समावेश भएका छन् । जसमध्ये जयन्ती लिम्बू, नाइमा राई र प्रतिमा दर्नाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन् । जीवन विश्वकर्मा र ऐश्वर्या राई सान्त्वना तथा जस्ना ढुंगाना पब्लिक च्वाइसको पुरस्कारबाट पुरस्कृत बनिन् ।

२ मिनटको नृत्यको भिडियोलाई मुल्यांकन गरी पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद प्रदान गर्नुका साथै नृत्य प्रशिक्षण समेत प्रदान गरिने प्रवद्र्धन समितिको गीत संगीत विभाग संयोजक एवम् कार्यक्रम संयोजक देव गुरुङले जनाए । सान्त्वनालाई ३, ३ हजार तथा पब्लिक च्वाइसलाई २ हजार नगदले पुरस्कृत गरिएको छ ।

natak natakkk natakk natak1