- अनिल श्रेष्ठ
विराटनगर / मोरङ कटहरी गाउँपालिका–१ टाइगरबस्तीकी मनसरीया पासवानलाई वर्षा शुरू भएपछि चिन्ता लाग्ने गरेको छ । खोलाछेउमा घर रहेकी पसवानलाई वर्र्षौंदेखिको एउटै समस्या हो, सिङ्घिया खोला । मनसुन सक्रिय हुने बित्तिकै सिङ्घिया खोलाको बहाव बढ्ने गरेको छ । ‘कतिबेला बाढी आएर घर बगाउँछ कि भनेर रातभरि नसुती जाग्राम बस्ने गरेको दुई दिन भयो’ उनले भनिन्, ‘पानी पर्ने बित्तिक्कै खोलाको पानी बढ्ने भएकोले त्यसैको डरले सुत्न सकेका छैनौं ।’ वर्षा हुनेबित्तिकै सिङ्घिया खोला सुसाएर आउने गरेको उनले सुनाइन् । ‘झनै साँझपख गड्गडाहटले रातभर सुत्न सक्ने अवस्था हुन्न’ खोलाले दिएको दुःखेसो सुनाउँदै उनले भनिन्, ‘खोला कटान गर्दै नजिकै पुगिसकेको छ । उठिबास हुने भयो ।’
यसरी दुई दिन यतादेखिको वर्षाले सिङ्घिया खोलाको बहाव बढेर बस्ती पसेपछि जोखिममा पर्ने मनसरीया मात्र होइनन् । विराटनगरसँग सीमा जोडिएको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाको केही वडाको बस्ती जोखिममा परेको छ । विराटनगर–१, २ र कटहरी–१ टाइगर बस्तीका सुकुम्बासीसहितको करिब दुई सय घरको सिङ्गो बस्ती जोखिममा परेको हो ।
विराटनगर–१ को गङ्गाचौक, २ को सुकुम्बासी बस्ती र कटहरी गाउँपालिका–१ टाइगर टोलको सिङ्गो बस्ती बाढीको जोखिममा रहेको स्थानीय बताउँछन् । बाढीबाट जोगिन तटबन्ध बनाइएको भए पनि तटबन्ध नाघेर बाढी घरखेतमा पस्न थालेको कटहरी–१ टाइगर टोलकी प्रमिला सरदारले बताइन् । उनका अनुसार गतवर्ष पनि ठूलो बाढी आएको सिङ्घिया खोलामा अहिले पनि दुई दिनयताको वर्षाले बहाव बढेको कारण यहाँका स्थानीय समस्यामा परेको उनको भनाइ छ । ‘कतिबेला बाढी आएर घर बगाउँछ कि भनेर रातभर जाग्राम बस्ने गरेका छौं’ उनले भनिन्, ‘पानी पर्ने बित्तिकै खोलाको पानी बढ्ने भएकोले त्यसैको डरले सुत्न सकेका छैनौं ।’
कटहरी–१ टाइगर बस्तीमा रहेका एक सय घरधुरी बढी जोखिममा रहेको स्थानीयले बताए । टाइगर बस्तीका एक दर्जन बढी घरभित्र सिङ्घिया खोलाको बाढी पस्न थालेपछि आफन्तको घर र खाली चौरमा बस्न थालेका छन् । घरभित्र पानी पस्न थालेपछि पाँच जनाको परिवार लत्ताकपडा र खाद्यान्नको पोको लिई नजिकको खाली चौरमा बस्न थालेको कटहरी–१ टाइगर बस्तीका सन्तोष सरदारले बताए । ‘दुई दिनयतादेखिको वर्षाले पानीको बहाव बढेपछि सिङ्घिया खोला घरभित्र पस्यो’ खाद्यान्न सामग्री सार्दै गरेका सन्तोषले भने, ‘अब कति दिन खाली चौरमा बस्नुपर्ने हो, बाढीले बस्ती पनि कटान गर्न शुरु गरेको छ ।’
सिङ्घिया खोलाबाट बालुवा, ढुङ्गा र गिट्टी निकाल्ने गरिएकाले पनि बाढीले कटान गर्दै लगेको हो । सडक निर्माण, निजी आवास निर्माणलगायत निर्माण कार्य अघि बढाउँदा अवैध रूपमा नदीजन्य पदार्थ झिक्ने गरिएको स्थानीयले बताए ।
‘वर्षा शुरु हुनेबित्तिकै सिङ्घिया खोला सुसाएर आउँछ । झनै साँझपखको गड्गडाहटले रातभर सुत्नसक्ने अवस्था हुन्न’ स्थानीय सन्तोषले भने, ‘खोलाले कटान गर्दै नजिकै पुगिसकेको छ । उठिबास हुने भयो ।’ वर्षौंअघि पनि सिङ्घिया खोलाको बाढी खेतमा पसेर पूरै घरखेत बगाएको यहाँका स्थानीय बताउँछन् । बर्सेनि जमिन कटान हुँदै गएपछि खाद्यान्न उत्पादन पनि घट्दै गएको स्थानीयको भनाइ छ ।
नदीले कटान बढाउँदै गए पनि हालसम्म कतैबाट पनि तटबन्ध निर्माण गरी बस्ती जोगाउन सहयोग नभएको गाउँलेहरू बताउँछन् । नदी नियन्त्रणको पहल नहुँदासम्म बस्ती सुरक्षित नहुने स्थानीय सत्यम नेपालीले बताए । उनले गाउँपालिका र महानगरपालिकालगायत अन्य निकायमा पहल गर्दासमेत कतैबाट पनि पीडाको सुनुवाइ नभएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले नदीछेउका स्थानीयलाई सतर्क रहन आग्रह गरेको बताए । शनिबार सिङ्घिया खोलाको बहाव बढेपछि विराटनगर–१ र कटहरी–१ टाइगर बस्तीका जोखिममा रहेका एक दर्जन बढी घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको उनले बताए ।