• वसन्त लिम्बू

ताप्लेजुङ/ ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडामा साताको २ दिन (शनिबार र मङ्गलबार) हाट लाग्छ । हाट भर्न सदरमुकाम आसपासका मात्र नभएर पाँचथरबाट पनि व्यावसायीहरू भेला हुन्छन् । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको समयमा केही साता बन्द रहेको शनिबारे हाटमा लकडाउन खुकुलो भएसँगै चाप बढेको छ ।

यो सँगै सदरमुकाममा अहिले भीडभाड देखिन थालेको छ । स्थानीयहरू पहिले झैँ आफ्नो दैनिकीमा फर्किएका छन् । कोरोना भाइरस अर्थात् कोभिड–१९ ले विश्व नै आक्रान्त बनाएको बेला यहाँ भने कोरोनाको प्रभावै नपरेजस्तो गरेर मानिसहरू आवत–जावत गरिरहेका छन् । यहाँ न सरकारले भनेजस्तो भौतिक दूरी नै कायम भएको छ, न त सवारी आवत–जावतमा कुनै नियम लागू भएको छ । लकडाउन खुकुलो भइरहँदा कोरोना सङ्क्रमणको जोखिम भने बढ्दै गएको स्थानीय बताउँछन् ।

भारतमा काम गरेर फर्किएका ताप्लेजुङका चार जनामा झापा र सुनसरीको होल्डिङ सेण्टरमा कोरोना सङ्क्रमण पुष्टि भए पनि हालसम्म जिल्लाभित्र कुनैपनि सङ्क्रमित भेटिएका छैनन् । तर यसैगरी लापरबाही गर्ने हो भने जोखिम बढ्ने स्थानीय सन्तोष तामाङ बताउँछन् । ‘सरकारले लकडाउन खुकुलो बनाएपछि चौक तथा बजारमा मानिसहरूको चहल–पहल निकै बढेको छ’ उनले भने, ‘यस्तै लापरबाही गर्ने हो भने यहाँ पनि कोरोना सङ्क्रमण नदेखिएला भन्न सकिन्न ।’ पछिल्लो समय भाडाका सार्वजनिक सवारीसाधनसमेत सञ्चालन भइरहेको देखिएकाले पनि झनै जोखिम बढेको उनको तर्क छ ।

लकडाउनको समयमा कडाइ गरेको प्रशासनले पछिल्लो समय हाटबजारमा चाप बढिरहँदा यसको व्यवस्थापनका लागि कुनै चासो नदिनुले जिल्लाका अगुवाहरूको नै कमजोरी रहेको पाथीभरा बहुमुखी क्याम्पसका प्राध्यापक सजन पौडेल बताउँछन् । ‘जब कोरोना सङ्क्रमित सानो सङ्ख्यामा थिए, त्यतिबेला प्रशासनले कडाइ ग¥यो’ प्राध्यापक पौडेल भन्छन्, ‘अब देशैभर सङ्क्रमितको सङ्ख्या बढिरहेको बेला मानिसहरूको घुइँचो हुने हाटबजार नै सञ्चालन गर्न दिनुले गम्भीर समस्या निम्तिने सम्भावना छ ।’ स्थानीय कृषकले उत्पादन गरेको कृषिउपजलाई व्यवस्थित तरिकाले बिक्री वितरणका लागि स्थानीय सरकारले कदम चाल्नुपर्ने पनि उनको सुझाव छ । ‘कृषकहरूको उत्पादन खेर जाने अवस्थामा छ भने स्थानीय सरकारले सङ्कलन गरी निश्चित स्थानबाट बिक्री गर्न सकिन्छ । तर यसरी हाटबजार नै सञ्चालन गर्नु हुँदैन’ –पौडेलले थपे ।

यता जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन पनि हाट सञ्चालन हुनुले समस्या निम्तिन सक्ने चुनौती रहेको स्वीकार्छन् । ‘यसले पक्कै पनि चुनौती थपिएको छ । सङ्क्रमण फैलियो भने ठूलो रूपसमेत लिन सक्छ’ प्रमुख मादेनले भने, ‘तर, लकडाउन खुकुलो भइरहेको सन्दर्भमा हाट पनि लागेको हो । अब माथिबाट निर्देशन नआएसम्म यहाँको समितिले केही गर्न सक्ने अवस्था छैन ।’ ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला भने कृषक तथा उपभोक्ताहरू स्वतःस्पूmर्त आएकाले पनि हाट लागेको बताउँछन् । ‘प्रशासनले हाट लगाउने भन्ने निर्णय गरेको छैन । स्वतःस्फूर्त रूपमा हाट लागेको हो’ प्रजिअ निरौलाले भने, ‘व्यावहारिक रूपले पनि यसलाई रोक्न समस्या भएको छ । हामीले नाकाहरूमा कडाइ पनि गरेका छौँ र परीक्षणको दायरासमेत बढाउँदै लगेका छौँ तर जोखिम बढेको नै छ ।’

एक सय ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
ताप्लेजुङमा शुक्रबारसम्म १ सय ३५ जनाको पिसिआर र ६ सय ५२ जनाको आरडिटी परीक्षण गरिएको छ । १ सय ३५ जनाको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले बताए । यता आरडिटीमा २ जनाको पोजेटिभ देखिए पनि उनीहरूको समेत पिसिआर रिपोर्ट भने नेगेटिभ आएको निमित्त प्रमुख पोखरेलले जानकारी दिए ।

केही दिनअघि ताप्लेजुङ स्थायी घर भएका ४ जनामा सङ्क्रमण फेला परेको थियो । तर, उनीहरू झापाको बुद्धशान्ति गाउँपालिका र सुनसरीको भोक्राहा गाउँपालिकाका क्वारेन्टिनमा रहेका थिए । कामको सिलसिलामा भारत पुगेर फर्किएका उनीहरूलाई ताप्लेजुङ नआइपुग्दै बुद्धशान्ति र झोक्राहाकै क्वारेन्टिनमा परीक्षण गर्दा कोरोना सङ्क्रमण फेला परेपछि उतैबाट उपचारका लागि धरानतर्फ लगिएको थियो ।

hat