धरान । भारत र चीनको दशगजा क्षेत्रमा सोमबार र मंगलबार भएको दुई पक्षीय भिडन्तमा भारतका २० सैनिक शहीद भएको बताइएको छ ।

पूर्वी लद्दाखको गैलवान क्षेत्रमा चीनका सेनासँग भएको झडपका क्रममा भारतका २० जना सैनिक जवान शहीद बनेको सैनिक कर्णेलले बताएको उल्लेख गरिएको छ । मंगलबार पनि दुई जना सैनिक जवान शहीद बनेका छन् ।

समाचार एजेन्सी एएनआइका अनुसार चीनतर्फका ४३ जवानको ज्यान गएको बताइएको छ तर हालसम्म चीनले आधिकारिक पुष्टि गर्ने गरी कुनै भनाइ सार्वजनिक गरेको छैन । झडपमा थुप्रै जवानहरू हताहत भएको अनुमान गरिएको छ । भारतका तर्फबाट शहीद हुनेमा एक कर्णेल पनि रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दुई पक्षबीच नै समस्या समाधान गर्नका लागि चीन र भारतका बरिष्ठ सैन्य अधिकारीहरू गैलवान क्षेत्रमा बैठक बसिरहेको जनाइएको छ । सोमबार एक अफिसरसहित दुई जवान शहीद भएको खबर बाहिरिएको थियो ।

चीनस्थित ग्लोबल टाइम्सका प्रधान सम्पादक हु जिनले ट्वीट गर्दै चाइनाका तर्फबाट के कति घाइते भए भन्ने विषय भन्दा पनि दुई देशबीचको सम्बन्ध महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।