मोरङ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लुथरन सामुदायिक कल्याण समाज(एलसीडब्लुएस) ले मोरङमा स्थापना गरिएका गाउँपालिका तथा नगरपालिका स्तरीय क्वारेन्टाइनलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्वारेन्टाइन स्थल प्रयोजनका लागि १२ थान पीपीई, ३ हजार थान फेस मास्क, २५ लिटर स्यानिटाइजर, ६ सय थान लेटेक्स इक्जामिनेसन ग्लोभ्स((पञ्जा), र ८ सय थान लाईफब्वाई साबुन लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा वितरण गरिएको हो ।

मोरङ् जिल्लाको जहदा गाउँपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्षी नगरपालिका तथा कानेपोखरी गाउँपालिका क्षेत्रमा स्थापना गरिएको क्वोन्टाइन स्थलमा प्रभावकारी रुपमा कोभिड–१९ को परीक्षण, रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको संस्थाले जानकारी दिएको छ ।
उक्त सामग्रीहरु गाउँपालिका तथा नगरपालिका स्तरीय विपद व्यवस्थापन समितिसँगको समन्वयमा जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो ।

अहिले यी ५ गाउँपालिका तथा नगरपालिका क्षेत्रमा संचालनमा रहेका क्वारेन्टाइन स्थालहरुमा २१० जना भन्दा बढी मानिसहरु क्वारेन्टाइनमा बसेका छन् । ती समाग्री रंगेली नगरपालिका प्रमुख–दिलिप बगडिया, सुनवर्षी नगरपालिका प्रमुख–कालीप्रसाद दास, कानेपोखरी गाउँपालिका प्रमुख–ताराप्रसाद काफ्ले, जहदा गाउँपालिका प्रमुख–कैलाशप्रसाद मण्डल तथा धनपालथान गाउँपालिका स्वास्थ्य प्रमुख– ऋषि सेठलाई हस्तान्तरण गरिएको थियो ।