भद्रपुर / झापाको कचनकवलमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमित पुष्टि भएका छन् । बिहीबार तीन जना कोरोना भाइरस सङ्क्रमित पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १५६ पुगेको छ ।
कचनकवल १ का २० बर्षीय पुरुष, ४ का २६ बर्षीय पुरुष र ५ नम्बर वडाका २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । उनीहरु भारतको मुम्बई र दिल्लीबाट आएका हुन् । योसँगै कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या ११६ पुगेको हो ।
पुष्टि भएका एक जना जानकी आधारभुत विद्यालय पाठामारी र दुई जना महेन्द्ररत्न मावि केचनाको क्वारेन्टाइनमा बसेका थिए । दोस्रो पटक स्वाब सङ्कलन गरेर पठाएकोमा तीन जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए । जेठ २४ गते ११७ जनाको स्वाब सङ्कलन गरिएकोमा विहीबारसम्म ९५ जनाको रिपोर्ट आएको र २२ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । बुधबारमात्र १५१ जनाको स्वाब सङ्कलन गरी विराटनगर पठाएको उनको भनाई छ । अहिलेसम्म कचनकवलमा ९२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
जिल्लामा हालसम्म गौरीगञ्ज १२ , शिवसताक्षीमा र भद्रपुरमा तीन÷तीन, अर्जुनधारामा दुई, गौरादह नगरपालिकामा पाँच , दमक नगरपालिकामा एक , मेचीनगरमा दुई, झापा गाउँपालिकामा एक , बाह्रदशीमा चार , बुद्धशान्तिमा पाँच , हल्दिबारीमा दुई, कमल गाउँपालिकामा एक जना कोरोना पुष्टि भइसकेका छन ।