धरान । आठ दशकदेखिको धराने नाट्यकर्मीको सपना अब पूरा हुने भएको छ । धरान–८ को सभागृहभन्दा पछाडिको करिब २ कठ्ठा जग्गा वितरणमा स्थानीयबासी पनि सहमति नजिक पुगेपछि नाट्यकर्मीको सपना साकार हुने भएको हो ।

धरानमा वि.सं. १९९७ देखि नाटकको प्रारम्भ भएको जानकारहरू बताउँछन् । यो कालखण्ड आधुनिक नेपाली नाटकको आदि काल हो । धरानमा नाटकको श्रीगणेश भएको कालदेखि गणना गर्दा ठ्याक्कै आठ दशक हुन आउँछ । यही आठ दशकमा धराने नाट्यकर्मीले सुविधा सम्पन्न नाटक घर पाउने भएका हुन् । त्यसका लागि धरान–८ को स्थानीय पहल समितिसँग मंगलबार धरान उपमहानगरपालिकासहितको नाटक घर निर्माण उपभोक्ता समिति, स्थानीय पहल समिति र धरान–८ का अध्यक्षसहित बसेको छलफलबाट नाटक घर निर्माण गर्न दिने सहमतिमा पुगेका हुन् । पहल समितिका संयाेजक नन्द राईले नाटक घर कहिले र कसले निर्माण गर्ने हो त्यो चाहिँ निश्चित गर्नका लागि माग गरेका थिए ।

धरानका धेरै आयोजनाहरू विवादमा तानिरहेका बेला झण्डैझण्डै धरानमा नाटक घर बन्ने विषयमा पनि विवादको चौघेरामा परेको थियो तर स्थानीय पहल समिति पनि सहमतिको विन्दुमा आएपछि भने अब नाट्यकर्मीको सपनाको घर बन्ने निश्चित भएको हो । धरान उपमहानगरका प्रमुख तिलक राईले स्थानीयले पनि नाटक घर पनि आवश्यक हो भन्ने कुरा महसुस गरेको बताए । उनले भने, ‘नाटक घर पनि आवश्यक चाहिँ आवश्यक नै हो, अन्य ठाउँमा खालि जग्गा भेटिए अन्ततिर बनाउँदा हुन्थ्यो भेटिँदैन भने त यहाँ पनि ठिकै हो भनेर भन्नुभयो ।’

उनले निर्माण सुरु भएर अन्त हुने ग्यारेन्टी र कसको स्वामित्वमा हुने भन्ने स्थानीयको चासोलाई सम्बोधन गरेपछि स्थानीय पनि सहमत भएको बताए । ‘उहाँहरूलाई चाहिँ निर्माण सुरु भएर अन्त हुन्छ भन्ने ग्यारेन्टी के छ, कसले बनाउने, स्वामित्व कसको रहने भन्ने स्थानीयको चासो रहेछ,’ उनले भने, ‘अब नाटक घर बन्ने कुरामा ढुक्क हुने स्थिति तयार भएको छ ।’ नाटक घर निर्माण घर उपभोक्ता समितिका अध्यक्ष तथा कलाकार प्रेम सुब्बाले स्थानीयका केही मागहरूलाई धरान उपमहानगरपालिकाले सम्बोधन गर्नुपर्ने भन्ने भएपछि स्थानीय तहले पनि माग सम्बोधन गर्न तयार भएपछि नाटक घर बन्ने लगभग निश्चित भएको बताए । ‘नगरपालिकाप्रति स्थानीयका केही मागहरू रहेछन्’ उनले भने, ‘त्यो मागलाई नगरले सम्बोधन गर्ने भनेपछि उहाँहरू पनि सकरात्मक हुनु भएको छ । नाटक घर बन्ने नै भयो ।’ उनले समितिको तर्फबाट स्थानीय बुद्धिजीवी, टोल विकास संस्था तथा स्थानीयहरूले नाटक घरप्रति जुन उत्साह देखाएका छन् त्यसप्रति आभार व्यक्त गरे ।

उनले भने–‘हिजो हाम्रो पालामा नाटक घर नभएर जुन दुःखकष्ट भोग्याैं, त्यो कष्ट आउँदो सन्ततिले भोग्नु पर्दैन, यसलाई विद्यालयकै रूपमा पनि लान सकिन्छ । नाटक घरको खाँचो थियो, भविष्यमा यो गहनाको रूपमा हुनेछ ।’ नाटक घर निर्माणका लागि संघीय सांसद् जयकुमार राईले चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएका थिए तर नाटक घर निर्माण नहुने संकेत देखिँदा बजेट फ्रिज भएर जाने अवस्था पनि सिर्जना भएको थियो । नाटक घर निर्माणको लागि करिब ५ करोड बजेट लाग्ने अनुमान गरिएको छ । नाटक घरको अघिल्तिर भने परम्परागत आर्किटेक्ट गरिए पनि भित्र भने ध्वनि, प्रकाशलगायतमा चाहिँ आधुनिक प्रविधिको तयार गरिने कलाकार विक्रम श्रिले यसअघि नै बताएका थिए । नाटक घर दुई तले बन्ने छ ।