धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररतमध्ये २८ जना कोरोना संक्रमितहरू कोरोना मुक्त बनेर घर फर्किएका छन् । उनीहरू सबै झापा कचनकवल गाउँपालिकाकाबासी हुन् ।

बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार २८ जना पुरुष कोरोना मुक्त बनेर घर फर्किएका हुन् । उनीहरू १८ देखि ५६ वर्ष उमेर समूहका छन् । उनीहरूको चौथो पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो । हाल बीपी प्रतिष्ठानमा ५५ जना उपचाररत रहेका छन् ।

बीपीमा पहिलो पटक १८ जना डिस्चार्ज भएका थिए । दोस्रो पटक ३ जना र तेस्रो पटक १२ जना डिस्चार्ज भइसकेका छन् । बीपीले ५ हजार ५१४ जनाको पीसीआर परीक्षण गरेकोमा १४६ जना कोरोना संक्रमित देखिएका छन् ।