धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप १२ जना कोरोना मुक्त बनेका छन् । कोरोना मुक्त हुने सबै झापाको कचनकवलका हुन् ।

बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले आज (शनिबार) थप १२ जना डिस्चार्ज भएको जानकारी दिए । पीसीआर परीक्षण गर्दा संक्रमण नभएको पाइएपछि डिस्चार्ज गरिएको हो । उनीहरूको उमेर समूह १८ वर्षदेखि ५८ वर्षसम्मका पुरुषहरू डिस्चार्ज भएका हुन् ।

यसअघि पहिलो पटक १८ जना र दोस्रो पटक थप तीन जना गरी २१ जना कोरोना मुक्त बनेका थिए । डिस्चार्ज हुने धरानकी एक महिलाबाहेक सबै झापाबासी हुन् । बीपी प्रतिष्ठानमा हाल ८३ जना उपचाररत छन् । बीपीमा हालसम्म ५ हजार २२८ जनाको पीसीआर प्रविधिमार्फत् स्वाब परीक्षण गरिसकिएको छ । त्यसमध्ये १३० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बीपीमा गरिएको परीक्षणमा आज मात्रै ८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।