पथरी / कानेपोखरी गाउँपालिकाको क्वारेन्टाइनबाट ६ जना घर फर्किएका छन् । ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरु क्वारेन्टाइनबाट घर फर्किएका हुन ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले खदा लगाउँर्दै उनीहरुलाई विदा गरेको हो । वयरवन स्वास्थ चौकीको क्वारेन्टाइनमा बसेका वडा नं. ७ का ४ जना र जनसेवा माविको क्वारेन्टाइनमा बसेका २ जनालाई विदा गरिएको थियो । वयरवन स्वास्थ चौकीको क्वारेन्टाइनमा बसेका ४ जना १७ दिन पछि र जनसेवा माविको क्वारेन्टाइनमा बसेका २ जना १४ दिन पछि विदा भएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

विदाई कार्यक्रममा उनिहरुले १७ दिन र १४ दिनको बसाई सहजै वितेको बताएका थिए । क्वारेन्टाइनमा बस्दा अरुले गरेको व्यवहार, स्वास्थकर्मीले गरेको व्यवहार धेरै राम्रो र खाने, बस्ने, सुत्नेको व्यवस्था पनि अरुको भन्दा उत्कृष्ट रहेका बताएका थिए । उनिहरुको १० दिन अघि आरडिटि टेष्ट गरिएको थियो । आरडिटि टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । विदाई कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत र वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी पनि उपस्थित रहेका थिए ।