धरान । धरान–१७ एन्फा टेक्निकल सेन्टरको क्वारेन्टिनमा रहेका ३० वर्षीय युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जेठ १९ गते भारतको मुम्बईबाट धरान आइपुगेका उनीसहित तीन जनालाई एन्फाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा ४५ जना रहेका थिए । उनीहरूको बिहीबार स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा धरान–१७ फोकल्याण्ड टापु स्थायी घर भएका ३० वर्षीया युवामा कोरोना भेटिएको धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई ‘मनोज’ ले जानकारी दिए ।

कोरोना देखिएपछि उनलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ । उनीसहित तीन जनाको टोली आइपुगेका थिए भने उनको कोठामा ४ जना बस्दै आएका थिए । उनीबाहेक सबैको रिपोर्ट संक्रमण नभएको (नेगेटिभ) आए पनि रिकन्फर्मका लागि पुनः आज स्वाब लिने तयारी भइरहेको वडाध्यक्ष भट्टराईले जानकारी दिए । ‘आज बिदा गर्ने तयारी थियो, ४५ जनामा ४४ जनाको रिपोर्ट नेगेटिभ आयो । तर, ऊसँग रुम सेयरिङ गर्ने तीन जनाको रिकन्फर्म होस् भनेर स्वाब लिने तयारी भएको छ’–अध्यक्ष भट्टराईले फोन सम्पर्कमा भने ।

अन्यलाई आज बिदा गर्ने तयारी भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले कोरोना संक्रमण देखिने बित्तिकै बीपीको आइसोलेसनमा राखिएको जानकारी दिए । ‘पोजेटिभ देखिइवरि हाम्रो आइसोलेसनमा ल्याइसकियो’ उनले फोन सम्पर्कमा भने, ‘तर, सामान्य लक्षणहरू केही देखिएको छैन ।’ उनका अनुसार कोरोना संक्रमित देखिएका युवा सिधै क्वारेन्टिनमा रहेकाले धरान सुरक्षित नै रहेको बताए ।

धरानकाे बीपीमा हाल ९५ जना संक्रमित उपचाररत रहेका छन् ।