• रामचन्द्र अधिकारी 

कोभिड १९ महामारी किन फैलियो भनेर कारण खोज्दा भेटिन्छ कि–प्रकृतिमाथि औधि दोहन हुनु । प्रकृतिमाथिको दोहनअन्तर्गत नै पर्छ–जैविक विविधताको क्षति । जैविक विविधताको एउटा अंग मानिस पनि हो । यो अंगलाई  काम गर्न अरु अंगको साथ चाहिन्छ  । अर्थात् मानवको अस्तित्व र क्रियाकलापका लागि जैविक विविधता आवश्यक हो ।  

जैविक विविधतामा मानवीय गतिविधिले ठूलो असर पारेको छ । प्राकृतिक कारणले नै पनि जीवहरुको विनाश भइ नै रहेको छ । गत वर्षको अष्ट्रेलियाको जंगलमा लागेको आगोमा परी एक अर्ब वटा जीवजन्तु मरेका थिए भने एक करोड ५६ लाख एक्कड जंगलमा नाश भएको थियो । त्यस्तै ब्राजिल र अमेरिकामा पनि जंगलमा भएको आगलागीबाट लाखौँ जीवजन्तुहरुको गत वर्ष मृत्यु भएको थियो । उसो त तीन सय वर्ष पहिलेदेखि देखा परेको जलवायु परिवर्तनले पनि जैविक विविधतामा विनाश गरिरहेको छ । जैैविक विविधतमा परेको क्षतिबाट सिर्जित कारणले उत्पति भएको  कोभिड १९ ले मानव समुदायमाथि नै धावा बोलिरहेको छ भने लोकस्ट भनिने एक किसिमको कीरा(सलह)ले अफ्रिका र दक्षिण पश्चिमी एशियालाई आतंकित पारिरहेको छ । लोकस्टको विनाशकारी प्रदर्शनीलाई पनि जैविक विविधतामा भएको क्षतिबाट सिर्जित समस्याको रुपमा लिइन्छ ।

मानवको जीवनको आधार नै जैविक विविधता हो भन्ने आशय बोकेर यसपालिको विश्व वातावरण दिवस मनाइँदै छ,जून ५ तारिखमा । सन् १९७२ को संयुक्त राष्ट्र संघको महासभाले प्रस्ताव पास गरी १९७४ देखि मनाउन सुरु गरिएको यो दिवस विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले ‘जैविक विविधता’ लाई मूल नारा बनाएको छ भने भावना र अर्थ फरक नपर्ने गरी नेपाल सरकारले ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ कायम गरेको छ । 

आज जस्तो र जति जैविक विविधता छ, यो भनेको कुनै बेलाको समृद्धशाली वातावरण भएको पृथ्वीमा भएको विविधिताको २० प्रतिशत मात्र हो । उबेला अस्तित्वमा देखिएका ८० प्रतिशत जीवजन्तु लोप भएर गएको अनुमान गरिएको छ । आज यस धरामा करिब ८० लाखदेखि एक करोडसम्म प्रजातिका जैविक विविधता रहेको अनुमान गरिएको छ । तर करिब १७ लाख ५० हजार प्रजातिको मात्र पहिचान खुलेको छ । यसको अर्थ मानिसले बाँकी अरु प्रजातिलाई चिनेर वैैज्ञानिक सूचीमा ल्याएर नामाकरण गर्न सकेका छैनन् । विवरण जसको जानिएको छ उसको बारेमा केही जानकारी र तथ्यांक पनि होला तर पत्तै नपाइएकाहरुको क्षति कसरी भइरहेको छ, कति लोप भइरहेका छन् हिसाब किताब छैन ।

नेपालको सन्दर्भमा हाल दुई सय १२ प्रजाति स्तनधारी, आठ सय ६ प्रजाति चरा पाइन्छन् । त्यस्तै, सरिसृप एक सय २३ प्रजाति,उभयचर एक सय १७, माछा दुई सय ३२, मलस्का दुई सय ३ प्रजाति र चेप्टा जुकाका एक सय ६८ प्रजाति पाइन्छन् ।  भूभागका आधारमा देश मध्यम आकारको भए तापनि भौगोलिक विविधता,जलवायुको विविधता,प्रसस्त पानीका स्रोतका कारणले नेपालको जैविक विविधता गुणस्तरीय छ र विश्व मानचित्रमा नेपाल अगाडि पनि छ । जस्तै ः चराको नेपाल हिस्सा करिब नौ प्रतिशत हो । यसको अर्थ पृथ्वीमा पाइने सम्पूर्ण चराको नौ प्रतिशत प्रजाति नेपालमा पाइन्छन् । त्यस्तै स्तनधारीले चार प्रतिशत हिस्सा लिएको छ । 

आजको विश्वमा मानव र हरिया वनस्पति नै नेतृत्वदायी जीवहरु हुन् । तब,मानवले जैविक संसारलाई मात्र होइन यहाँको प्रकृतिलाई नै आफ्नो कब्जामा पार्न प्रयासरत छ र सफल पनि भएकै हो । जति जमिन छ सोको तीन चौथाइ र जति समुद्र छ सोको दुई तिहाइ भागलाई मानिसले आफूलाई अनुकुल हुने गरी परिवर्तन गरिसकेको छ । सन् २०१० देखि २०१५ सम्ममा आउँदा तीन करोड २० लाख हेक्टर जंगलको विनाश भएको तथ्यांक छ । यति जंगल मासिँदा यसलाई बासस्थान बनाएका जनावरहरुको के हबिगत भयो होला अनुमान लगाउन सकियो तर तथ्यांक राख्न सकिएन । समुद्रमुनि हुने कोरल रिफहरु जसलाई जैविक विविधताको आश्रयस्थल मानिन्छ । मानिसको प्रभाव त्यसमा पनि परेको छ ।

गएको डेढ सय वर्षमा जैविक कोरल रिफ घटेर आधामा आइसकेको छ । अघिल्लो एक करोड वर्षको भन्दा पछिल्लो एक करोड वर्षमा भएको जैविक विविधताको विनाश औधि द्रुत छ । अबको तथ्यांक अझै डर लाग्दो छ कि अहिले अस्तित्वमा रहेकामध्ये २५ प्रतिशत जैविक विविधता यदि गतिविधि यस्तै भइरहने हो भने १० वर्षमै खतम हुन गइरहेका छन् भनेर सम्बन्धित संस्थाहरुले प्रक्षेपण गरिरहेका छन् । अरु त अरु, जैविक विविधताको एउटा अंग मानवको पनि ठूलो मात्रामा विनाश हुने भविष्यवाणीहरु भइरहेका छन् ।

मानवको पनि खाद्यान्न अभाव र स्वास्थ्य समस्याका कारण ठूलो संख्या एकै पटक विलय हुने अनुमान गरिएको छ । यस अनुमानलाई सार्थक तुल्याउने हुन कि भय हामी सबैमा अहिले विद्यमान दुई वटा कुराले उब्जाएका छन् । पहिलो हो कोरोना भाइरसका कारण फैलिएको कोभिड १९ महाव्याधी र दाश्रो चाहिँ बीच बीचमा ठूला विनाशकारी अनिकाल लगाउँदै आएका सलहको प्रकोप । सलहले खाद्यान्न अभाव गराउने र कोरोनाले स्वास्थ्य समस्या ल्याउने त प्रष्टै पारिसकेका छन् । यस्तो भयो भने अरु जीवजन्तु एकै साथ ठूलो संख्यामा विलय भए झैँ मानिस पनि होला भन्ने अनुमान हो । 

जैविक विविधताका मुलतः तीन प्रकार÷एकाइ हुन्छन् – प्रजाति विविधता, पारिस्थितिकीय विविधता र आनुवांशिक विविधिता । प्रजाति विविधताको विनाशको कुरा माथि गरियो । जब हामीले जंगल फाँड्यौँ,विकास गर्यौँ र समुद्रलाई समेत आफू अनुकुल बनायौँ भने पारिस्थितिक प्रणालीजन्य विविधता पनि प्रभावित पार्यौँ । अब, आनुवांशिक चाहिँ छोएका छैनौ त ? होइन यसमा पनि ठूलो प्रभाव पारिरहेका छौँ । जब प्रजाति नाश हुन्छ यससँगै जिन पनि नाश हुन्छ ।  जब संसारका मानिसको खानेकुरा सीमित प्रकारमा र सीमित बालीनाली र फलपूmलमा रहयो यसबाट धेरै जिनको लोप भएको अनुमान गरिएको छ । घरपालुवा जनावरका रैथाने वंशहरु मासिइरहेका छन् ।

मानौ हाम्रा रैथाने गाई,भैँसी र बाख्राहरु अनि रैथाने र परम्परागत बालीनाली हामीले गुमाइरहेका छौँ । हामीले घरमा पालेको गाईले युरोपको साँढेको बीजबाट बच्चा जन्माउँदै गरेको अवस्था छ भने यो गाईको जिन कसरी जोगाइराख्न सकियो ? यस्ता कुराले मानव जगतलाई नै क्षति गर्ने हो । यस प्रक्रियाबाट त्यहाँको रोग,त्यहाँका पशुलाई लाग्ने रोग यहाँ पनि आए र यही किसिमले अरु देशहरुमा पनि पुग्ने भए । 

संयुक्त राष्ट्र संघले भनेको छ– यस्तै मानवीय गतिविधि चलाइ राख्न, मानिसको यो भीडलाई थेग्न अरु डेडा पृथ्वीको खाँचो छ  जुन असंभव पनि छ । 

जैविक विविधता चाहिन्छ भन्ने ज्ञानको विकास भयो र संरक्षणका प्रयास गरिन थालियो । तर,प्रयाससँगै मानिस र जंगली जनावरका बीचमा घनिष्ठता पनि बढेर आयो । जसका कारणले ती जनावरमा भएको रोग बिराम मानिसमा पनि सजिलै आयो । अहिलेको कोरोना पनि चमेराबाट मानिसमा आएको भन्ने विश्वासयोग्य अनुमान आएको छ । साथै गैरघरपालुवा जनावरको बासस्थान विनाश भएपछि उनीहरु तितर–वितर भएर मानव बसोबासको छेउसम्म पनि आउन थाले जसले उनीहरुमा भएको रोग हामीमा आउने भयो । अर्को कुरा पशुपालनको व्यवसायीकरणसँगै, एकै किसिमका पशुको पालन गरिने,उस्तै बीउ प्रयोग गरिने कारण बाट पनि जैविक विविधताको कमि र रोगको संभावना बढी देखिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसमा लागेका  करिब ७५ प्रतिशत रोगहरु अरु जनावरबाट आएका हुन् । 

यो संसारमा सबै जीवहरुको भूमिका रहन्छ,उनीहरुले पारिस्थितिकीय प्रणालीलाई सन्तुलित राख्न आफ्नो ठाउँबाट कर्तव्य पूरा गरिरहेका छन् । स्वास्थ्य मानव जीवनका लागि सन्तुलित प्रणाली चाहिन्छ । मानिसलाई चाहिने खानपानको मजबुदीका लागि जैविक विविधिता चाहिन्छ । अन्य सबै प्रकारका आवश्यकीय विकासका लागि जैविक विविधता नभई हुन्न, रेलको लिक बनाउन किन नहोस् । मानवको स्वास्थ्य सुरक्षा मात्र होइन आधारभूत आवश्यकता र जीवनको निश्चित गर्न गर्न जैविक विविधता चाहियो । तसर्थ, यसपालिको विश्व वातावरण दिवसको नाराले जैविक विविधितालाई अंगिकार गरेको कुरा स्वागतयोग्य र सान्दर्भिक छ ।

दिवस मनाउन विविध कार्यक्रम कुना काप्चामा आयोजना गरिएका छन् यद्यपि  विश्वव्यापी औपचारिक कार्यक्रम चाहिँ जर्मनीको सहयोगमा कोलम्वियाले आयोजना गर्दैछ । कोलम्वियालाई जैविक विविधताको समृद्ध देश मानिन्छ जहाँ संसारका वनस्पतिको १० प्रतिशत पाइन्छ । चरा र सुनाखरीको  विविधतामा विश्वको प्रथम, वनस्पतिको विविधतामा दाश्रो, पुतली,माछा र उभयचरमा पनि दोश्रो स्थान लिएको छ ।   

अहिलेको कोरोना प्रकोपले मानिसलाई सचेत गराएको भन्ने बुझौँ । अब पनि सचेत  भइएन भने उल्लिखित क्षति व्यहोर्न तयार हुनुपर्यो । तसर्थ अब, प्रकृतिको लागि सोच्ने दिन आएको छ ।  जैविक विविधतामा हुँदै गरेको विनाशलाई न्यूनिकरण गरौँ, विविधताको संरक्षण गरौँ, संरक्षण गर्ने सबालमा अरु जीवजन्तुसँग पनि सामाजिक दूरी कायम गरौँ, अनि मानव जगतको रक्षा गरौँ । वातावरण दिवसको सन्देश फैलाआँै । 

इमेलः [email protected]