धरान । झापाको कचनकवलका संक्रमित २७ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पठाइए पनि ८ घण्टादेखि बसमै बसाइ रहेको संक्रमितहरूले बताएका छन् । व्यवस्थापन नभएपछि पुनः फर्किने तयारी गरिरहेको एक संक्रमितले बताए ।

शुक्रबार राति ११ बजे आइपुगे पनि हालसम्म प्रतिष्ठानको पार्किङ क्षेत्रमा गाडीमै बसिरहेको बताएका हुन् । संक्रमितमध्ये एकले फोनसम्पर्कमा भने,–‘हामी अहिलेसम्म गाडीमै बसिराको छु, रातिको ११ बजे आइपुगेको छु, अहिलेसम्म केही गरेको छैन ।’

उनका अनुसार बीपीमा बस्ने, खाने सुविधा छ भनेर पठाएको भए पनि आफूहरूलाई कुनै व्यवस्थापन गरेका छैन । २७ जना संक्रमित नै हालसम्म बसमै रहेकाले आफूहरू पुनः कचनकवलमै फर्किने तयारीमा रहेको बताए । ‘यहाँ के गर्नु त, केही गर्दैन, नेताहरूले आधा घण्टा रुक भन्दै भन्छ, हिजो राति ११ बजेदेखि त्यही भन्दैछ, के गर्नु हामी फिर्ता जाँदैछौं, त्यतैको क्वारेन्टाइनमा बस्छौं’–ती संक्रमितले भने ।

बीपीमा यसअघि पनि २७ जनालाई राखिएको थियो । उनीहरूलाई पनि कोभिड अस्पतालमा नराखेर पेइङ वार्डमा राखिएको छ । बीपीमा १०० बेड क्षमताको कोभिड अस्पताल बने पनि हालसम्म प्रयोगमा रहेको छैन । सामग्री अभाव कारण सञ्चालन आउन नसकेको स्रोत बताउँछ ।

ती संक्रमितहरू १० दिनअघि भारतको दिल्लीबाट झापाको कचनकवल आएका थिए । उनीहरूलाई कचनकवलको क्वारेन्टाइनमा राखिएको थियो । कोशी अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण देखिएपछि बीपी प्रतिष्ठान पठाइएको थियो ।

बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले कचनकवलबाट आउनेहरूको अपडेट लिने काम भइरहेको र उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय रहेकाले केही समय लागेकाे बताए । ‘आइसकेकाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने त हुन्छ नि, झट्ट आउँदा कसरी गर्ने भनेर समय लागेको हो, मलाई आधिकारिक रूपमा उहाँहरू आउनु भएको छ भन्ने जानकारी छ । व्यवस्थापनमा हामी लागिरहेका छौं’–उनले फोनसम्पर्कमा भने ।