धनकुटा / धनकुटामा थप ८४ जनाको पिसिआर टेष्टका लागि स्वाब संकलनगरी धरानस्थित वीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । यसैविच जिल्ला अस्पताल र आसपासको क्षेत्रमा लगाइएको शिल शुक्रवार अपरान्हदेखि खुलेको छ । 

 विगत एक साताको अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि थप स्वाब संकलन गरिएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।
 यसक्रममा १२ जना सुरक्षाकर्मी सहित स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी स्वास्थ्यकर्मी, विरामीका कुरुवा, संक्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालको क्वाटर भित्र बसाबास गर्ने व्यक्ति गरि ८४ जनाको पिसिआर टेष्ट गर्न स्वाव संकलन गरिएको अस्पतालका सुचना अधिकारी राजन पोखरेलले बताए । संकलन गरिएको स्वाव प्रतिष्ठान पठाइएको र केही दिनमै रिपोर्ट आइसक्ने पोखरेलले जानकारी दिए ।

 यसअघि जिल्ला अस्पतालमा जेठ ४ गते एक नर्र्समा पहिलो पटक कोरोना संक्रमण देखिएपछि भोलीपल्ट अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षकर्मी, बिरामी र कुरुवा गरि ८३ जनाको स्वाब संकलन गरिएको थियो । ति मध्ये अस्पतालमा कार्यरत ४ स्वास्थ्यकर्मी, २ सुरक्षाकर्मी र १ स्वास्थ्यकर्मीका परिवार गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुको विराटनगरस्थित कोभिड १९ अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको जनाईएको छ ।