धरान । प्रदेश १ मा कोरोना संक्रमितको संख्या थपिने क्रम जारी छ । प्रदेश १ मा मात्रै १७ जना कोरोना संक्रमित थपिएका छन् ।

यसअघि पनि एकैपटक उदयपुरको भुल्के क्षेत्रमा १२ जना कोरोना संक्रमित देखिएको थियो । प्रदेश १ मा दोस्रो पटक एकै दिनमा १७ जनामा कोरोना संक्रमण देखिएको हो । झापाको कचनकवल गाउँपालिकामा १५ जनामा कोरोना देखिएको छ भने धनकुटा र सुनसरीमा एक–एक जना कोरोना संक्रमित देखिएका छन् ।

योसँगै नेपालमा ४४४ जना कोरोना संक्रमित देखिएका छन् । हालसम्म ४५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार कचनकवलको ३, ६ र ८ नम्बर वडामा १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरूमा कोरोना देखिएको छ ।
यसैगरी धनकुटामा ३४ वर्षीय र धरानकी ५१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यो तथ्याङ्क हिजो नै सार्वजनिक भए पनि मन्त्रालयले आज मात्रै अद्यावधिक गरेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वाथ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले उनीहरूको अवस्था सामान्य रहेको बताएको छ ।