पथरी । पूर्वोत्तर भारतको दार्जिलिङस्थित मम्पो लाप्दाबाट मोरङको कानेपोखरी गाउँपालिका आएका चार जनालाई बयरवन स्वास्थ चौकीको क्वारेन्टाइनमा राखिएको छ ।

बुधबार उनीहरूलाई गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामसहितको स्वास्थ्य शाखाले बाटैबाट ‘रिसिभ’ गरी क्वारेन्टाइनमा लगेर राखिएको हो । उनीहरू कानेपोखरी–७, आइतबारेका एकै परिवारका जोगी थरका व्यत्तिः हुन् । स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बस्ने उनीहरू पहिलो हुन् ।

उनीहरू दार्जिलिङको मम्पो लाप्दामा लकडाउन हुनुअघि आफन्तकोमा घुम्न गएका थिए । घेरै समय भएपछि लोकल माइक्रोमा भारत–नेपालको सीमा आएका थिए । सीमा आएपछि प्रहरी चेकपोष्टमा खबर गरेपछि उनीहरू चारै जनालाई इलामको रोङ गाउँपालिकाको शिक्षा निकेतन माविको क्वारेन्टाइनमा २ दिन राखेका थिए । खान, बस्न र व्यवहार धेरै राम्रो भएको चारजना मध्ये एकजनाले बताए । उनले भारतको मम्पो लाप्दा दार्जिलिङतिर कोरोनाको संक्रमण नभएको बताउँदै सबैजना सजग रहेको बताए । इलामबाट कानेपोखरी गाउँपालिका सम्पर्क गरेपछि यता पठाइएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रोहिन्द्रराज भण्डारीले चारै जनाको ल्याउने बित्तिकै ज्वरो जाँच गरेर राखिएको बताए । उनीहरूलाई बिहान नास्ता, दिउँसो खाना र बेलुका खाना खुवाउने व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले बताइन् ।