धरान । धरान–१३ की कोरोना संक्रमित ५१ वर्षीया महिलाका पतिको जाँच गराउनका लागि पटकपटक भारत आउजाउ गर्ने गरेको पाइएको छ ।

पतिलाई विभिन्न रोग लागेका कारण जाँच गराएको केही समयअगाडि मात्रै ल्याइएको थियो । उपचारको लागि काठमाडौं जाने तयारीमा रहेका उनीहरू मंगलबार परीक्षण गराउनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुगेका थिए । दुवै जनाको स्वाब संकलन गरेर जाँच गर्दा महिलामा मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनका पतिमा भने संक्रमण नभएको पाइएको छ । उनीचाहिँ विभिन्न रोगबाट पीडित थिए ।

उनी भारतको दिल्लीमा पनि उपचारका लागि तीन महिनाअघि मात्रै पुगेर फर्किएका थिए । बिरामी भएका कारणले उपचार गराउनका लागि भारत गएर आएको परिवारसँगको छलफलमा जानकारीमा आएको धरान उपमहानगरका प्रमुख तिलक राईले जानकारी दिए । त्यो बेला भने भारतमा कोरोनाको प्रभाव एकदमै न्यून रहेको थियो । सन् २०१९ को नोभेम्बरको अन्तिमदेखि चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोनाको प्रभाव ढिला गरीमात्रै अन्य देशहरूमा फैलिएको थियो ।

उनलाई धरान उपमहानगरपालिका र प्रहरीको सहयोगमा हिजो राति नै बीपीको आइसोलेसनमा लगेर राखिएको छ । उनको अवस्था सामान्य भए पनि अन्यलाई पनि कोरोना संक्रमण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आइसोलेसनमा राखिएको हो । उनी रहेको क्षेत्र धरान–१३ को शिवधारामा प्रहरीले निगरानी राखेको छ भने त्यस क्षेत्रमा शिल गरिएको छ ।

‘प्रोटोकलअनुसार त्यो क्षेत्रमा शिल गरिएको छ’ धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले भने, ‘प्रोटोकलअनुसार नै महिलालाई सम्झाईबुझाई गरेर हस्पिटलमा लगेका छौं ।’ उनलाई कसरी कोरोना संक्रमण भएको हो भन्नेचाहिँ खोजीको विषय बनेको छ । तर, उनको पतिलाई बिरामी जाँचका लागि तीन महिनाअघि मात्रै भारतबाट ल्याइएको थियो । धरानमा पहिलो पटक कोरोना संक्रमण देखिएपछि स्थानीय सरकारले नयाँ रणनीति तयार गरिरहेको छ । सुरक्षा सतर्कतासँगै कोरोना फैलिन नदिनका लागि नयाँ रणनीति तयार गर्ने भएको हो ।

धरानमा कोभिड १९ को आइसोलेसनसहितको सय बेड क्षमताको अस्पताल रहेको छ । पूर्वमा विराटनगरको कोशी अस्पताल र धरानको बीपी प्रतिष्ठानमा कोभिड १९ अस्पताल रहेको छ ।