भद्रपुर । झापामा थप ९ जना कोरोना सङ्क्रमितका विरामी फेला परेका छन् । सबै विरामी झापाको दक्षिणी क्षेत्र नेपाल – भारत सीमामा जोडिएको कचनकवलको क्वारेनटाइनका हुन् । भारततमा रेल खुलेपछि जेठ ३ गते पाठामारी नाकाबाट नेपाल छिरेका ३३ जना युवाहरुलाइ प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । उनीहरुको स्वाब सङ्कलन गरी परिक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
सोमबार एकजना युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने अन्यको परिक्षणको क्रममा आज पुष्टि भएको हो । उनीहरूलाई त्यही दिन स्वास्थ्य परीक्षण गरी पथरिया र लक्ष्मी प्रसाद देवकोटा माविको क्वारेनटाइनमा राखिएको थियो । उनीहरू सबै जना दिल्ली र मुम्बईबाट काम गरेर फर्केका युवकहरू थिए । स्वाब कोसी अञ्चल अस्पताल विराटनगर पीसीआर परीक्षणका लागि पठाएकोमा रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन जीवन चौलागाईले बताए । नेपाल छिर्नेवित्तिकै उनीहरुलाई क्वारेनटाइनमा राखिएकाले समाजमा कोरोना फैलन नपाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण प्रसाद कोइरालाले जनाए ।
यता एक जना कोरोना सङ्क्रमित सोमबार निको भएर घर फर्किएका छन् । कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचाररत दमक नगरपालिका ३ बस्ने ६२ वर्षीय वृद्ध देउमान मङ्ग्राती डिस्चार्ज भएका हुन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो ।
मङ्ग्रातीलाई १२ वैशाखमा भर्ना गरिएको थियो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । झापा १२ जना कोरोना सङ्क्रमति मध्ये दुई जना निको भइसकेका छन् ।
यसअघि बाह्रदशीका पुरुषमा कोरोना सङ्क्रमण देखिएकोमा उपचारपश्चात निको भएका छन् ।