भद्रपुर /  झापाकाे कचनकवल गाउँपालिका ६ बनियानीका २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ ।

भारततमा रेल खुलेपछि नेपाल छिरेका झापा कचनकवलका ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । उनको स्वाब संकलन गरी परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो 

नेपाल छिर्नेवित्तिकै उनलाई क्वारेन्टाइनमा राखिएकाले समाजमा कोरोना फैलन नपाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जनाए । उनलाई क्वारेन्टाइनबाट विराटनगरस्थित कोरोना विषेश अस्पतालमा लगिने फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

यसअघि दमक र बाह्रदशीका पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियोे । त्यसमध्ये बाह्रदशीका पुरुष निको भइसकेका छन् । कचनकवलमा कोरोना पुष्टि भएको पुरुष गत शनिबार भारतबाट फर्किएका हुन् । उनीसँगै त्यो दिन पाठामारी नाकाबाट ३३ जना प्रवेश गरेका थिए । उनीहरूलाई त्यही दिन स्वास्थ्य परीक्षण गरी पथरिया र लक्ष्मी प्रसाद देवकोटा माविको क्वारेनटाइनमा राखिएको छ । उनीहरू भारतमा रेल चलेपछि घर फर्किएका थिए । उनीहरू सबै जना दिल्ली र मुम्बईबाट काम गरेर फर्केका युवकहरू थिए ।