यासोक, पाँचथर / पाँचथर जिल्लामा फौजी किरा फेला पर्न थालेपछि कृषि ज्ञान केन्द्र पाँचथर–ताप्लेजुङले चासो दिएको छ । किसानले बारीमा लगाएको मकैमा मिचाहा प्रजातीको फौजी किराले नष्ट गर्न थालेपछि केन्द्रले चासो दिएको हो । शुक्रबार प्रकोप प्रभावित कुम्मायक गाउँपालिका ५ र ३ रानीगाउँमा अनुगमन र निरिक्षण गरेको छ । कृषि ज्ञान केन्द्र पाँचथर ताप्लेजुङका प्रमुख सागर बिष्ट सहितको प्राविधिक टोलिले मकै बालीको अनुगमन गरेको थियो । अनुगमनको क्रममा टोलिले गत बर्षको जस्तै यो वर्ष पनि किराको प्रकोप देखा पर्न थालेको बताएको छ ।
केही दिन अघि फौजी किराको प्रकोपको विषयमा ब्लाष्ट खवरले समाचार प्रकाशन गरे पछि ज्ञान केन्द्रले चासो दिएको हो ।
छोटो समयमा धेरै क्षति पु¥याउँने भएकाले उच्च सावधानी अपनाउँनु पर्ने भएको ज्ञान केन्द्र प्रमुख सागर बिष्टले बताए । फौजी किराको क्षति न्यूनीकरण र व्यवस्थापन सम्बन्धि प्राविधिक र किसानहरुसंग अन्तरक्रिया गरी किट्नासक औषधीको प्रयोगको बिषयमा जानकारी गराएको बिष्टले जनाए । फौजी किराको बढ्दो क्षति कम गर्न जिल्लामा सहजै पाइने इमामेक्टिन बेन्जोएट ०.५ ग्राम बिषादीमा १ लिटर पानी मिसाएर प्रयोग गर्ने त्यस्तै क्लोरोनट्रानिलीप्रोल १ लिटर बिषादीमा ३ लिटर पानी प्रयोग गरी स्प्रे गर्न सुझाव दिएको छ उनले बताए ।
किराको प्रकोप देखिएको फिदिम नगरपालिकाका किसानहरुलाई पनि सहुलियतमा बिषादी बितरण सुरु भइरहेको कार्यालयले जनाएको छ । स्थानीयतहमा रहेका कृषि प्राविधिक, किसान र ज्ञान केन्द्रको आवश्यक परामर्शको आधारमा यो प्रकोपलाई न्यूनीकरण गर्न सकिने कार्यालयको भनाइ छ । गत वर्ष फौजी किराको प्रकोपबाट कुल उत्पादनको २० प्रतिशत उत्पादन घटेको थियो । किसानलाई सहयोग पुग्ने उदेश्यले कार्यालयको टेलिफोन नम्बर सार्वजनिक गरेको छ । ज्ञान केन्द्रले ९८५२६८१४६८ र ९८५२६८२४६८ को नम्बरमा सार्वजनिक गरेको हो । मकै बालीमा लाग्ने फौजी किराको प्रकोप रोक्न टेलिफोनबाट पनि परामर्श लिने गरी ब्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।