धरान । अनाधिकृत रूपमा सब्जी बिक्री गर्ने को १ ख ४३९९ नम्बरका गाडीका चालक रवि तामाङलाई धरान उपमहानगरको अनुगमन समितिले जरिवाना तिराएको छ । र, अब आइन्दा यस्ता गम्भीर गल्ती नर्गने शर्तमा २५ सय रुपैयाँ जरिवाना तिराएर छाडिएको अनुगमन समितिकी संयोजक तथा उपमहानगरीकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् ।
‘अनाधिकृत रूपमा नै सब्जी बिक्री गरेको समितिको ठहर भयो, वडाको सिफारिसबिनै लापरबाही ढंगले बिक्री गरेको पाइएपछि कारबाही स्वरूप पहिलो पटक २५ सय रुपैयाँ जरिवाना गराइएको छ’–बैठकपछि लगत्तै उनले फोनसम्पर्कमा भनिन् ।
चालक तामाङले धरान–१५ का थोक व्यवसायी मनोज श्रेष्ठको सामान मोरङको विराटनगरबाट लिएर आएका थिए । ३ हजार केजी हरियो सब्जीसहित सुख्खा सब्जी ल्याएकोमा तामाङ आफैले १२ सय केजी जति हरियो सब्जी र सुख्खा सब्जी धरान–१६ का विभिन्न क्षेत्रमा बिक्री गरेको मंगलबार राति अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले पक्राउ गरेका थिए । पक्राउ गरिएपछि गाडीसहित धरान–१३ स्थित कृषि उपज बजार स्थलमा ल्याएर राखिएको थियो । बुधबार बिहानै अनुगमन समितिको बैठक बसेर उनलाई जरिवाना तिराउने निर्णय गरेको हो । फेरिफेरि यस्ता घटना दोहोरिएमा कानून बमोजिम नै कारबाही गर्ने निर्णय भएको संयोजक भण्डारीले बताइन् ।
चालक तामाङले लकडाउनको अवधिमा दुई वटा गम्भीर गल्ती गरेको बैठकले निर्णय गरेको छ । एउटा सिफारिसबिनै वडामा बिक्री गरेको र कृषि उपज बजार स्थलमै अनलोड गर्ने भनिए पनि अनाधिकृत रूपमा बिक्री गरेको देखिएपछि जरिवाना गर्न बाध्य भएको छलफलमा सहभागी एक व्यवसायीले बताए । यता थोक व्यवसायी मनोज श्रेष्ठले आफूले कुनै पनि गल्ती नगरेको दाबी गरे ।
‘ड्राइभरलाई घरछेउको एक जना व्यवसायीले दुई तीन बोरा आलु ल्याइदिनु भनेर भनेकाले ल्याएको रहेछ । त्यही बेला नगर प्रहरीको गाडीले देखेपछि पक्राउ गरेछन्’ उनले भने, ‘मलाई खबर आयो, मैले तुरुन्तै गाडी लिएर कृषि बजारमा आउनु भनेर भने, र यहाँ गाडी राखियो र आज बिहान बैठकले उसलाई जरिवाना गरायो, यसमा मेरो कुनै गल्ती छैन, त्यो कुरा त मलाई थाहा पनि थिएन ।’
उनका अनुसार विराटनगरबाट १० बोरा आलु, ५ बोरा प्याज, १५ बोरा खरबुजा, र केही हरियो सब्जी ल्याएर आएको थियो । चालक तामाङको घर धरान–१६ मा रहेकाले गाडी उसैको जिम्मामा दिने गरेको उनले बताए ।