धरान । धरान–१५ का थोक व्यवसायी मनोज श्रेष्ठले ल्याएको सामान कृषि उपज बजार स्थलमा ‘अनलोड’ गरेर केही सामान चाहिँ धरान–१६ को क्षेत्रमा बिक्री गरेको पाइएको छ ।
को १ ख ४३९९ नम्बरको मालबाहक ट्रकमा ल्याएको आलु, प्याज, टमाटरलगायतका सामग्री धरान–१३ स्थित कृषि बजारमा झारेर झण्डै १२ सय केजी सामान चाहिँ धरान–१६ मा मंगलबार राति बिक्री गरेको पाइएको हो । थोक व्यवसायी श्रेष्ठको गाडीका चालक रवि तामाङले धरान–१६ का विभिन्न स्थानमा बिक्री गरिरहेको पाइएपछि धरान उपमहानगरका अनुगमन अधिकृत वेदप्रकाश सापकोटाको नेतृत्वले नियन्त्रणमा लिन सफल भएको छ ।
‘केही सामान कृषि बजारमा झारेको देखिन्छ । केही सामान बाँकी राखेर रातारात नै बिक्री गरेको पाइयो’ उनले फोन सम्पर्कमा भने, ‘गाडी पक्राउ गरेका छौं । हालसम्मको रिपोर्टिङमा चालकको फटाइँ हो भन्ने आएको छ ।’ उनका अनुसार कसले फटाइँ गरेको हो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ । अनुगमन समितिका सदस्यसमेत रहेका थोक व्यवसायी काजी गिरीले भने, ‘जो मालिक छ, उल्ले अनुमति नदिईकन चालकले गाडी चलाउँदैन । नियम विपरीत जो काम गर्छ । त्यसको पास खोसिनुपर्छ । धनिले चाहिँ चालकको काम हो भनेर पन्छिदै छ । कसैको सम्पत्ति कसैको अनुमति बेगर काम हुन्छ ?’
उनले नियमभन्दा बाहिर जाने जोकोहीलाई पनि कारबाहीको भागीदार बनाउनुपर्ने बताए । अनुगमन समितिकी संयोजक तथा धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले अनुमगन समितिले समातेको भन्ने खबर आएको बताइन् । उनका अनुसार अनाधिकृत रूपमा चालक आफैँले बिक्री गरेको भन्ने कुरा छ । यसविषयमा विस्तृतमा जानकारी लिन आफैँ नै कृषि उपज बजार स्थलमा गइरहेको छु ।