धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्याएको आइसोलेसन वार्ड नजिकका विभागहरु आजदेखि खाली गरेको छ ।
प्रतिष्ठानको पूर्वतिर रहेको पेइङ वार्डलाई २० वटा बेडको आइसोलेसन वार्ड बनाएको थियो । सो वार्डसँग जोडिएका नाक, कान घाटी, हाडजोर्नी, आँखा र छाला रोग विभागका वार्डहरु खाली गरिएको प्रतिष्ठानका सह–प्रबक्ता डा. अशोक ऐरले जानकारी दिए ।
आइसोलेसन वार्ड जोखिमपूर्ण वार्ड भएकाले अन्य विमारीलाई असर नपुगोस र प्रदेश १ मा कोरोनाका विमारी थपिने सम्भावनालाई मध्य नजर गरेर खाली गरिएको डा. ऐरले जानकारी दिए । ‘आइसोलेसन वार्ड नजिक रहेका विभागहरु खाली गरिएको छ । यो थप वेडका लागि तयारी पनि हो र अन्य विमारीलाई असर नहोस भनेर वरीपरि खाली गरिएको हो ।’–डा. ऐरले भने ।
यस अघि प्रतिष्ठानले २० वटा बेड भएको पेइङ वार्डलाई आइसोलेसन वार्ड बनाएको थियो । उक्त आइसोलेसन वार्डसँग यि चार वटा विभाग पनि नजिक रहेकाले विमारीको सुरक्षाका लागि पनि खाली गरिएको हो ।
नियमित ओपिडी सेवा नचलेका कारण वार्डमा विमारीको चाप पनि नभएको प्रतिष्ठानले जनाएको छ । नाक कान घाटी, आँखा र छाला रोगका विमारी कम हुने भएकाले खाली गराइएको हो । केही भएका विमारी मेडिसिन वार्डमा राखिएको छ ।
प्रत्येक वार्डमा ३० देखि ३४ बेड रहेका थिए । अव प्रतिष्ठानमा करिव १ सय ५० बेडको आइसोलेस वार्ड तयारी अवस्थामा हुने छ । हाल प्रतिष्ठानमा ७ जनालाई आइसोलेसन वार्डमा राखिएको छ । ५४ जना प्रतिष्ठानको सम्पर्कमा आएका छन् । उनीहरुलाई कतिपय होम क्वारेन्टाइन र मोरङको टाँडीमा बस्न रेफर गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिए । विदेशबाट आउने सम्पर्कमा आउने क्रम जारी रहेको छ ।