धरान/ कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तत्काल उपचार नगर्दा ज्यान जोखिममा नपर्ने स्वास्थ्य सेवाहरू केही समयका लागि स्थगित गरेपछि थप १३ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

नियमित फलोअपमा जानुपर्ने सेवाग्राही बिरामीहरूले प्रतिष्ठानले सार्वजनिक गरेका ती हेल्पलाइनमा भएका मोबाइल नम्बरमा डायल गरेर आवश्यक स्वास्थ्य सल्लाह लिन सक्ने सहप्रवक्ता डा अशोक ऐयरले बताए । यसअघि प्रतिष्ठानले कोरोनालाई लक्षित गरेर कोरोना भाइरस डिजिज हेल्पलाइन ९८०२७९५३४९ र ९८०२७९५२५२ नम्बर सार्वजनिक गरेको थियो ।

प्रतिष्ठानमा सामान्य बिरामीको चाप घटाएर कोरोनाको सम्भावित सङ्क्रमणबाट सर्वसाधारणलाई बचाउन सोमबार फेरि विभिन्न विभागका हेल्पलाइन सार्वजनिक गरेको छ । सहप्रवक्ता डा.अशोक ऐयरका अनुसार दन्तरोग समस्या हुनेले ९८०५३१६७३०, बालरोग सम्बन्धी समस्या हुनेले ९८०२७९५३४३, छाला रोगका लागि ९८०५३१६७९१, आकस्मिक दुर्घटना वा रोग लागेमा ९८०५३१६७०६, मानसिक समस्या भएमा ९८०५३१६७८५ मा डायल गरेर आफ्नो समस्या बताउन सक्नेछन् ।

यसैगरी हाडजोर्नीका लागि ९८०५३१६७०५, शल्यक्रिया (अप्रेशन) कालागि ९८०५३१६७०९, नाक, कान, घाँटीकालागि ९८०५३१६७०३, इन्टर्नल मेडिसिनका लागि ९८०५३१६७२५, कार्डियोलोजी (मुटु रोग) का लागि ९८०५३१६८१६, अफ्थालमोलोजी (आँखा) का लागि ९८०५३१६८२९, गाइनोकोलोजी (स्त्री तथा प्रसूति) का लागि ९८०५३१६८३४ र पल्मोनरी, क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन (फोक्सो तथा दम) का लागि ९८०५३१६८२५ नम्बरमा सिधै फोन गरेर सम्बन्धित चिकित्सकबाट सल्लाह लिन सकिने डा.ऐयरले बताए ।

उनले भने, ‘प्रतिष्ठानले सर्वसाधारणहरूलाई घरबाटै स्वास्थ्य परामर्श लिन सहज होस् भनेर ओपिडीको विकल्पमा हेल्पलाइन ल्याएको हो । यसलाई फोन ओपिडी भन्दा पनि हुन्छ । चिकित्सकले बिरामीको रोगअनुसार सल्लाह दिन्छ । अवस्था अनुसार अस्पतालमा बोलाउन सक्छ ।’

यसैबीच धरान उपमहानगरपालिकाले लक डाउन घोषणा गरेको छ । लक डाउन घोषणासँगै इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षकको कमाण्डमा खटेको टोलीले अनुगमन गर्नेछ ।