बिर्तामोड (ब्लाष्ट) मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिनका लागि प्रदेश सरकारले व्यवस्थित एक्सन प्लान बनाएर त्यसको कार्यान्वयनमा लगातार जुटिरहेको बताएका छन् । प्रदेश सरकारको सम्पुर्ण ध्यान कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणमा केन्द्रित रहेको मुख्यमन्त्री राईले बताए ।
भारतको रानीगञ्ज नाकासँग सीमा जोडिएको नेपाल प्रवेशको पूर्वीद्वार काँकडभिट्टा नाकाको स्थलगत निरीक्षणमा आइपुगेका मुख्यमन्त्री राईले सञ्चारकर्मीहरूसँग व्यवस्थित काममा सक्रिय रहेको बताए । यसैको परिणमस्वरूप प्रदेशका विभिन्न जिल्लामा करिब ५ सयको हाराहारीमा क्वारेन्टाइनहरू तयार भइसकेको र आइसोलेसन निर्माणको काम शुरु भइसकेको जानकारी दिए । केही दिनअघि मात्र मोरङको टाँडीमा निर्माण भएको क्वारेन्टाइनको अवलोकन र निरीक्षण गरेको भन्दै उनले त्यहाँ २ सय शøयाको क्वारेन्टाइन तयार भएको जानकारी दिए । सङ्क्रमणको शङ्कास्पद नागरिकहरूलाई क्वारेन्टाइनमा निःशुल्करूपमा राख्ने र खानाको उचित प्रबन्ध गर्ने उनले बताए ।
प्रारम्भिक चरणमा प्रदेशभरिका ६ वटा अस्पतालमा आइसोलेसन निर्माणको तयारी गरेको तथा एकहप्ता भित्रमा ५० शøयाको आइसोलेसन अस्पताल तयार गर्ने गरी काम शुरु गरेको उनले बताए । त्यसपछि कुन कुन निजी तथा सरकारी अस्पताललाई खाली गर्नुपर्छ वा अन्य कुनै त्यस्ता पूर्वाधारहरूलाई आइसोलेसन वार्डको रूपमा प्रयोग गर्नुपर्छ प्रदेश सरकारले सबै अध्ययनको काम गरिरहेको मुख्यमन्त्री राईले जानकारी दिए ।
आफ्नो सुरक्षाका लागि सचेत भएर सावधानी अपनाउने, अनावश्यक भीडभाडमा नजाने मुख्य कुरा भएकाले त्यसलाई ध्यानमा राखेर अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, हाटबजारलगायतका भीडभाडमा नजान, ठूलो सङ्ख्यामा जम्मा नहुन मुख्यमन्त्री राईले प्रदेशवासीलाई आग्रह गरेका छन् । काँकडभिट्टा नाकामा देखिएका केही समस्याको समाधानतर्फ प्रदेश सरकार तत्काल लागेको र अहिले मात्रै पनि थुप्रै नेपाली काँकडभिट्टा नाका भएर नेपालतर्फ आउन लागिरहेको प्रत्यक्षरूपमा आफूले देखेको बताउँदै उनले सङ्घीय र प्रदेश सरकारले तोकेको मापदण्ड पूरा गरेर सरकारले भनेको कुरा मान्ने गरी सबै प्रक्रिया अवलम्बन गर्ने हिसाबमा उनीहरूको नेपाल प्रवेश हुने जानकारी दिए ।
नेपाल सरकारले सबै नाका लक गरिसकेको अवस्था रहेको हुँदा प्रदेश सरकार अत्यन्तै संवेदनशील रहेको भन्दै मुख्यमन्त्री राईले यो संवेदनशील र गम्भीर घडीमा जुनसुकै प्रकारको परिस्थितिको सामना गर्नका निम्ति पनि सरकार तयार र सक्षम रहेको मुख्यमन्त्री राईले विश्वास दिलाए । उनले प्रदेशका जनताको सुरक्षाका निम्ति सम्पूर्ण जिम्मेवारी लिन प्रदेश सरकार तयार रहेको र तीनै तहको सरकारबीच यसका लागि समन्वय र सहकार्य भइरहेको जानकारी दिए ।
मुख्यमन्त्री राईले आजसम्म गरेको व्यवस्थापनले अब धान्न नसक्ने भन्दै निक्कै कडा सावधानी अपनाउनु पर्ने भएकाले सरकारले पनि कडाइ गरेको बताए । उनले काँकडभिट्टा नाकाबाट प्रवेश गर्ने हरेक नागरिकले १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नै पर्ने भएकाले चेकजाँच कडा हुने जानकारी दिए । नाकाबाट ओसार–पसार हुने आवश्यक सामानको व्यवस्थापनमा सबै जुट्ने, चेकजाँचका लागि कति घण्टा बस्नुपर्छ, त्यसमा सबैले धैर्य गर्नुपर्ने, आत्तिनु पर्ने, डराउनु पर्ने, असन्तुष्टि जनाउनुपर्ने, कुनै कारण नभएको मुख्यमन्त्री राईको भनाइ थियो ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनालीसहित सुरक्षा निकायका उच्च अधिकारीहरूको टोलीलाई मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरिएको कामबारे जानकारी गराएका थिए । मुख्यमन्त्री राईसहितको टोलीले पूर्वीनाकाको मेचीपुल, कोरोना भाइरस परामर्श सहायता कक्ष, भद्रपुर नगरले तयार गरेको कलवलगुडीको क्वारेन्टाइनलगायतका बारेमा जानकारी लिएको थियो ।
सोमबार बिहान १० बजेदेखि नेपाल र भारतका सम्पूर्ण सीमा लक गरिएको छ । सीमा लक गरेपछि यस नाकाबाट ओहोर–दोहोर गर्ने सयौं नेपाली नेपाल–भारत सिमानाको मेचीपुलमा र भारतीय नागरिक काँकडभिट्टामा अलपत्र परेका थिए । सोमबार बेलुकादेखि प्रहरीले दशगजामा अलपत्र रहेका नेपालीको तथ्याङ्क सङ्कलन गर्ने कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए । तथ्याङ्क सङ्कलनपछि उनीहरूलाई क्वारेन्टाइनमा पठाउने तयारी प्रहरीको छ ।
यसैबीच मेचीनगर नगरपालिकाले निर्माण गरेको धाइजन स्वास्थ्य चौकीको भवनमा रहेको क्वारेन्टाइनमा स्थानीय एक युवालाई राखिएको छ । कतारबाट चैत ६ गते नेपाल आएका मेचीनगर–११ का युवालाई सेल्फ क्वाइरेन्टाइनमा बस्ने ठाउँ नभएपछि नगरपालिकाले व्यवस्थापन गरेको हो ।
मेचीनगर–११ इँटाभट्टा घर भएका ज्यालामजदुरी गर्ने ती युवालाई आवश्यक परीक्षणमा ज्वरो नदेखिएको भए पनि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने नगरका विपद् व्यवस्थापन संयोजक टीकाराम मग्रातीले जानकारी दिए । झापाका सबै स्थानीय तहलाई कोरोना सङ्क्रमण हुनसक्ने क्षेत्रबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न सङ्घीय र प्रदेश सरकारले निर्देशन दिएका छन् । निर्देशनबमोजिम भद्रपुर र मेचीनगरले क्वारेन्टाइनको प्रबन्ध गरिसके पनि अरू स्थानीय तह निर्माणको चरणमा छन् । मेचीनगरको धाइजन स्वास्थ्य चौकीको भवनमा रहेको क्वारेन्टाइन २० शøया क्षमताको छ ।