संखुवासभा / संखुवासभा । केहि दिन अघि मकालु बरुण राष्ट्रिय निकुञ्जले संरक्षित क्षेत्रका नागरिकहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना ग¥यो । संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकाको ताम्कु सेक्टरमा आयोजित उक्त कार्यक्रममा सहभागी मध्यवर्ती क्षेत्रका प्रतिनिधीहरुले बाँदरको समस्या अत्याधिक रहेको गुनासो गरे । अन्तरकृया कार्यक्रममा स्थानीयले बाँदरको समस्याले गर्दा खेती लगाएर उत्पादन लिन नै समस्या रहेको बताए ।
मुख्य संरक्षण अधिकृत चन्द्रशेखर चौधरीको उपस्थितीमा आयोजित अन्तरकृया कार्यक्रममा वन्यजन्तुले बाली खाईदिने गरेको गुनासो स्थानीयले पोखेका थिए । बाँदर, दुम्सी बँदेल, मृग लगायतले बाली खाईदिएपछि समस्या भएको हो । पछिल्लो समय जंगली जनावरहरुको संख्यामा बृद्धिभएसँगै कोदो, मकै, आलु लगायतका बालीहरु खाएर नष्ट गरिदिएको नागरिकहरुले बताएका छन् । जंगली जनावरहरुले बाली नष्ट गरिदिएपछि गाउँमा बस्न सक्ने अवस्था नभएको भन्दै बाली संरक्षणको उपाय निकुञ्जले सिकाउनु पर्ने नागरिकहरुले माग राखेका छन् ।

हाल भालुको संख्या समेत बढेकोले घरपालुवा जनावरहरु त्यसको सिकार बनेको स्थानीयले बताएका छन् । त्यस वापत निकुञ्जले क्षतीपुर्ती दिने भनिएपनि सहज तरिकाले क्षतिपुथर्ती नपाएको स्थानीयको गुनासो छ । क्षतिपुर्ती भराउनको लागि सम्पुर्ण प्रकृया पुरा गरि निकुञ्ज कार्यालय सेदुवा पुगेर आउँदा पाउने क्षतिपुर्ती रकम भन्दा बढी खर्च भएको पिडितहरुले अनुभव सुनाएका थिए । गाउँपालिकाको केन्द्र ताम्कुबाट मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालय सेदुवा पुग्न दुई दिन लाग्छ । सामुदायिक वनको काठ कटाउनको लागि अनुमति पत्र लिन समेत सेदुवा नै पुग्नु पर्ने बाध्यता रहेकोले निकुञ्जले जनताहरुलाई सास्ती दिएको आरोप लगाएका छन् ।
अन्तरकृया कार्यक्रममा सहभागीहरुले पोखेको गुनासोहरु निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले सुनुवाई गरेका थिए । पछिल्लो समय वन्यजन्तुहरुको संख्या बढेको महशुस हुनु खुसीको कुरा रहेको उनले बताए । मानिसहरुले वन्यजन्तुहरुको बासस्थान वनजंगल फडानी गरेपछि बन्यजन्तुहरु गाउँपस्न थालेको चौधरीले बताए । पर्याप्त जंगल भए वन्यजन्तुहरु त्यही रमाउने भएकोले वनजंगल विनास गर्न नहुने चौधरीको भनाई छ । बन्यजन्तुहरुबाट जनधनको क्षति भई हाले क्षतिपुर्तीको व्यवस्था गरिएकोले घटनाको ३५ दिन भित्र प्रकृया पुराईसक्नु पर्ने प्रमुख संरक्षण अधिकृत चौधरीले जानकारी दिए । बाँदरले पुराएको क्षतिको राहत अहिलेसम्म दिने व्यवस्था नभएपनि अब केही समय भित्र नै माथिल्लो निकायबाट नितिगत निर्णय आउन लागेको उनले बताए ।
पशु चौपायको क्षतिको लागि भने दश हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने व्यवस्था रहेको उनले जानकारी दिए । मानविय क्षति तर्फ सामान्य घाईते भएको अवस्थामा २० हजार रुपैयाँ, गम्भिर घाईते भएको अवस्थामा २ लाख रुपैयाँ र मृत्यु भएको अवस्थामा १० लाख रुपैयाँ क्षतिपुर्ती उपलब्ध हुने चौधरीले बताए । सबै घटनामा क्षतिपुर्ती लिनको लागि निकुञ्ज कार्यालयका कर्मचारीहरुको उपस्थितीमा मुचुल्का अनिवार्य तयार गर्नु पर्ने समेत उनले जानकारी दिए । सम्पुर्ण कागजात तयार भईसकेपछि अव सेक्टर कार्यालयमा बुझाए पुग्ने चौधरीले बताए । सेक्टर कार्यालयले ईमेलको माध्ययमबाट निकुञ्ज कार्यालयमा पठाएपछि करिव एक हप्ता भित्र राहत उपलब्ध गराउने चौधरीले प्रतिबद्धता जनाए । पृथ्वी मानिस लगायत सवै जीवजन्तुहरुको समेत घर भएकोले उनीहरुको बाँच्ने अधिकार संरक्षण गर्नु पर्नेमा आम नागरिकहरु सचेत हुनको लागि समेत मुख्य संरक्षण अधिकृत चौधरीले आग्रह गरे ।