भद्रपुर/ झापामा आत्महत्याको दर भयावह रूपमा बढ्दै गएको प्रहरी तथ्याङ्कले जनाएको छ । आत्महत्या गर्नेमा अधिकांश किशोर अवस्थाका युवायुवती रहेको बताइएको छ ।

प्रहरीले आत्महत्याविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि आत्महत्याको दर बढ्दै जानु समाजका लागि चिन्ताको विषय भएको प्रहरीको भनाइ छ । पछिल्लो समय पारिवारिक अस्थिरता, साथीहरूबाट अलग हुने, अनुशासनमा देखिएका समस्या, सामाजिक सञ्जाल, स्कुलमा आउने परिणाम र अध्ययनमा हुने असफलताका कारण पनि आत्महत्याका घटना हुने गरेको पाइएको छ ।

तीन वर्षको तुलना गर्दा झापामा हरेक वर्ष आत्महत्या गर्नेको सङ्ख्या बढेको तथ्याङ्कले पुष्टि गरेको छ । आर्थिक वर्ष ०७३/०७४ मा २ सय ३० जना, ०७४/०७५ मा २ सय ४७ जना , ०७५/०७६ मा २ सय ८८ र चालू आर्थिक वर्षको माघसम्म मात्र ६७ पुरुष र २४ महिला गरी ९१ जनाले आत्महत्या गरेका छन् ।

बढ्दो आत्महत्या प्रहरीलाई चुनौती बन्दै गएपछि आत्महत्या न्यूनीकरण गर्न सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । प्रहरीले विशेष रूपमा विद्यालयमा आत्महत्या न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जिल्लाका एसपी कृष्णप्रसाद कोइरालाले बताए । अभियानलाई सार्थकता दिन विद्यालयका विद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरूलाई लक्षित गरेर समुदाय साझेदारी अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरिएको एसपी कोइरालाको भनाइ छ ।

सामाजिक सञ्जाल बढी कारण भएकोले साइबर अपराधसम्बन्धी जानकारी दिँदै आइरहेको उनले सुनाए । सामाजिक सञ्जालमार्फत्विभिन्न आर्थिक प्रलोभन देखाएर, फकाएर, धम्क्याएर अपराध गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको उनको भनाइ छ । सामाजिक सञ्जालमा आफ्नो सम्पूर्ण परिचय खुल्ने विवरण नराख्न, आफू घुम्न या काम विशेषले गएका स्थानको बारेमा तस्बिर खिचेर सामाजिक सञ्जालमा नराख्नसमेत उनले अनुरोध गरेका छन् ।

मनोरोग विशेषज्ञ डा.सन्दर्व अधिकारीले सबैभन्दा बढी आत्महत्या मानसिक स्वास्थ्यमा आएको समस्याले निम्त्याएको बताउँछन् । डा. अधिकारीले आत्महत्या न्यूनीकरणका लागि सबै तह र तप्काले ध्यान दिन आवश्यक रहेको बताए । उनका अनुसार आत्महत्या गर्नुअघि सम्बन्धित व्यक्ति रिसाउने, अरूसँग नबोल्ने, एकोहोरो हुने आदि लक्षण देखा पर्ने उनले बताए ।

प्रविधिको विकाससँगै विभिन्न निराशाजनक गतिविधिमा किशोरकिशोरी संलग्न हुने र देखासिकीलगायतका कारण पनि आत्महत्या गर्न बाध्य हुने गरेको पाइएको विज्ञहरू बताउँछन् । सामाजिक सञ्जालमा जथाभावी अश्लील कुराकानी गर्ने र अन्त्यमा असमझदारी बढ्दा त्यसले आत्महत्याको बाटो रोज्ने गरेको कतिपय घटना फेला परेको प्रहरीले जनाएको छ । महŒवाकाङ्क्षी बन्दा पनि धेरैले आफ्नो उद्देश्य पूरा गर्न नसक्दा मृत्युको बाटो रोज्ने गरेको प्रहरीको भनाइ छ ।

आत्महत्या गर्नुमा असफल प्रेम, लागूऔषधको प्रयोग, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोगलगायत रहेको प्रहरीको भनाइ छ । बाल्यकालदेखि नै सकारात्मक विषयमा आफ्ना बालबच्चालाई शिक्षा दिनुपर्ने र नकारात्मक विचार राखेमा तुरुन्त उसलाई मनोपरामर्श दिएर सकारात्मक बाटोमा लगाउनुपर्ने धारणा विज्ञहरूको छ । मानिसमा मानसिक समस्या बढ्दै गएकाले पनि आत्महत्या अन्तिम विकल्प रोज्ने गरेको पाइएको छ । आत्महत्या रोक्नलाई विद्यालय तहमा नै पाठ्यक्रम निर्माण गरेर लागू गर्नुपर्ने जानकारहरू बताउँछन् ।