धरान । सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुर क्षेत्रमा मङ्गलबार बिहान १० बजेतिर भएको दुर्घटनामा एक युवाको ज्यान गएको छ । 

टेम्पो र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय सन्दीप मगरको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । चालक मगरले चलाएको को.३७ प ७९८६ नम्बरको मोटरसाइकल र को.१ ह ६०१९ नम्बरको टेम्पो आपसमा ठक्कर खाँदा मगर गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख इन्स्पेक्टर वीरेन्द्रसिंह थापाले जानकारी दिए ।

उनको टाउको, दायाँ हातको कान्छी औंला, अनुहारलगायतमा चोट लागेको थियो । उनलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । प्रतिष्ठानमा उपचारको क्रममा उनको निधन भएको इन्स्पेक्टर थापाले जानकारी दिए । यस्तै टेम्पो चालक ३१ वर्षीय अविनाश तामाङ पनि घाइते भएका छन् । उनको बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ । 

टेम्पो विजयपुर चोकबाट बूढासुब्बा मन्दिरतर्फ जाँदै गरेको थियो भने मोटरसाइकल धरान बजारतर्फ झर्दै गरेको अवस्थामा आपसमा ठक्कर खाएको ट्राफिक प्रहरीले जनाएको छ ।