पाँचथर/ लक्ष्यअनुसारको प्रगति नदेखिएको भेडेटार–रवि–राँके सडक कालोपत्रे गर्नका लागि भइरहेको काम गुणस्तरहीनसमेत भएको पाइएको छ ।
सडकको अनुगमन गर्ने क्रममा गुणस्तरीय काम नभएको पाइएको रेसिडेण्टल इञ्जिनियर शङ्करबहादुर खनालले बताए । सडकको मेसिनरी वाल लगाउने क्रममा बाहिर सिमेण्ट देखाएर भित्र ड्राइ वाल लगाएको पाइएपछि वाल नै भत्काइएको इञ्जिनियर खनालको भनाइ छ ।
पर्खाल भत्काएर गुणस्तर कायम गर्न कामको जिम्मा पाएको भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.ले पेटी ठेक्का दिएको नेपाली ठेकेदारलाई सुझाव दिएको खनालले बताए । मुख्य ठेकेदार कम्पनीले कामको गुणस्तर कायम गर्न सहमति जनाएको पनि उनले बताए ।
सडक–खण्डको पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्बिसे पञ्चमीदेखि राँकेसम्म गरिएको अनुगमनको क्रममा गुणस्तरहीन काम भइरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताए । सडकको काम गुणस्तरहीन हुन नदिनेसमेत अध्यक्ष कुरुम्बाङको भनाइ छ ।
सडक निर्माणको कामलाई गुणस्तरीय बनाउन निरन्तर रूपमा सरोकारवालासँग छलफल, अन्तरक्रियासमेत गर्ने अध्यक्ष कुरुम्बाङले बताए । त्यस्तै कामको गुणस्तरकायम गर्न निर्माण व्यवसायी र आयोजनाका मजदुरहरूलाई राखेर ओरियण्टेसन दिने पनि इञ्जिनियर खनालले बताए ।
अब ठेकेदारले स्किल टेष्ट गरिएका मजदुरलाई मात्र काममा लगाउने गरी प्रक्रिया बढाइएको पनि खनालले बताए । पेटी ठेकेदार दीपेश बोहोराले निर्माण कम्पनी र कन्सल्टेन्सीबीचको समन्वय अभावले केही कमजोरी भएको स्वीकारे । आगामी दिनमा कमजोरीलाई सुधार्ने उनले बताए ।
ट्रयाक खोलिएको तीन दशकपछि कालोपत्रेका लागि उक्त सडकको गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । उक्त सडक कालोपत्रेको जिम्मा भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.ले पाएको छ । निर्माण कम्पनीसँग ११ नोभेम्बर सन् २०१८ मा सम्झौता भएको छ ।
तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५ सय ७२ रूपैयाँमा सम्झौता भएको हो । सम्झौता अवधि ३६ महिनाको छ । जसमा एक्जिम बैङ्क अफ इण्डियाको ८७ प्रतिशत र नेपाल सरकारको १३ प्रतिशत लगानी रहेको छ । लक्ष्यअनुसार एक वर्षमा २० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा त्यो समेत हुन सकेको छैन ।
केही समयअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले सडकको अनुगमन गरी लक्ष्यअनुसार कामको प्रगति देखाउन निर्देशन दिएका थिए ।
सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय भेडेटार–रवि–राँके सडक योजना, इलामले आयोजना कार्यान्वयन गर्दैछ । एक नं. प्रदेशकै महŒवपूर्ण योजनाको रूपमा रहेको यो सडकले पाँचथर, इलाम, मोरङ र धनकुटाका दर्जनौं गाउँलाई जोड्नेछ ।