दमक/ मालपोत भन्ने बित्तिकै फाइलका ढड्डै ढड्डा भएको ठाउँ हो । त्यहाँ गएर आफ्नो काम गराएर फर्कनु भनेको एउटा युद्ध जिते झैं अनुभूति गर्नु पर्ने अवस्था छ ।

घण्टौंसम्म आफ्नो पालो पर्खनु पर्ने समस्या । चिनेजानेको र पहुँच भएकाको छिन भरमै काम हुने सोझा र इमान्दारहरूले सधैँ धाइरहनु पर्ने र दुःख पाइरहनु पर्ने निकाय भनेकै मालपोत कार्यालय हो भनेर आम नागरिकले बुझ्ने गर्दथे । यो खालको समस्यालाई समाधान गर्न, सेवा प्रभावकारी होस् भन्नका लागि सरकारले देशभरका मालपोत कार्यालयमा अनलाइन बाट सेवा दिन शुरु ग¥यो ।

अनलाइन सेवा भएपछि त मालपोतको समस्या बीसको उन्नाईस हुन्छ कि भन्ने नागरिकले अपेक्षा गरेका थिए । तर दमकमा रहेको मालपोत कार्यालयको अवस्था हेर्दा समस्या बीसको बीस नै छ । अर्थात् अनलाइन सेवा शुरु भए पनि मालपोतमा भोग्नुपर्ने समस्या ज्युँका त्युँ नै छ ।

दमक–५ हरिओम कोलनीकी शान्ता थापाले एउटा जग्गा रजिष्ट्रेशन पास गर्न दमकको मालपोत कार्यालयमा धाएको ३ दिन भयो तर अझै पनि उनको काम हुन सकेको छैन । अर्का सेवाग्राही शिवसताक्षी –२ का तुलसीराज चाम्लिङले पनि मालपोत कार्यालय धाएको २ दिन भएको बताए ।

दुवै जनाले आफैले बिक्री गरेको जग्गा राजीनामा पास गरिदिनु पर्ने थियो तर समयमा नै काम हुन नसकेको गुनासो उनीहरूको छ । सरकारले लागू गरेको अनलाइन प्रणालीबाट कार्यालयको सेवा लिन सहज होला भन्ने सर्वसाधारणलाई लागेको थियो तर भरपर्दो प्रविधि र दक्ष प्राविधिक नहँुदा सेवाग्राहीले झनै सास्ती खेप्नु परिरहेको उनीहरूको भोगाइ छ ।

‘कहिले सर्भर डाउन भन्छन्, कहिले मलाई त यो हेर्नै आउँदैन अर्को सर आएपछि हुन्छ, उहाँको आज बिदा हो भन्छन्, झन् वाक्क भइयो’ शान्ता थापाले भनिन्, ‘काम नभएर मालपोत आउँदै जाँदै गरेको पनि ३ दिन भइसक्यो तर काम अझै पनि भएको छैन ।’

अनलाइन प्रणालीबाट जग्गासम्बन्धीका सम्पूर्ण कामको शुरुवात गरिएको भए पनि अनलाइन र पुरानै शैलीका ढड्डा दुवैमा तथ्याङ्क राख्नुपर्र्दा थप समस्या भएको मालमोत कार्यालयको भनाइ छ । सरकारले मालपोत कार्यालय डिजिटल प्रक्रियामा गएपछि कुनै समस्या नहुने बताउने गरेको भए पनि सेवाग्राहीले झनै झन्झट व्यहोर्नु परेको गुनासो गरिरहेका छन् । मालपोत कार्यालयका अनुसार डिजिटल प्रविधिमा सबै सेवाग्राही आबद्ध भइनसकेकोले काममा ढिलाइ भए पनि यो प्रविधि सुरक्षित हुने प्राविधिक उमेश बरालको भनाइ छ ।

उनी भन्छन्, ‘प्रविधिको कुरा हो, भन्ने बित्तिकै पनि सबै काम भइहाल्दैन । त्यसको पनि पद्धति हुन्छ तर अनलाइन हो भन्दैमा फुमन्तर गर्दै काम भइहाल्छ भन्ने नागरिकको बुझाइले काममा झनै गाह्रो भएको छ ।’ नागरिकको सहजताका लागि शुरु गरिएको अनलाइन सेवामा कहिलेकाहीँ त्रुटि आउनु सामान्य भएको र त्यसबेला सर्भरको समस्या भयो भन्दै सेवाग्राहीलाई भन्नु पर्ने अवस्थासमेत आउने गरेको उनले बताए ।

कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुनु, दक्ष प्राविधिक र भरपर्दो इन्टरनेट सुविधाको अभावका साथै दोहोरो काम गर्नुपर्दा सेवाग्राहीलाई समयमा सहज किसिमबाट सेवा प्रवाह गर्न समस्या हुने गरेको मालपोत कार्यालय दमकका सूचना अधिकारी होमनाथ सेढाईंले बताए । सरकारले प्रविधियुक्त मालपोत भनेपनि प्रविधि चलाउन जान्ने कर्मचारी नपठाउँदा सर्वसाधारणदेखि लिएर अहिलेका कर्मचारीले समेत सास्ती खेप्नु परेको उनको भनाइ छ ।

उनले दक्ष, प्रविधिको प्रयोग गर्नसक्ने कर्मचारीको आवश्यकता रहेको बताए । सरकारलाई त्यसैअनुरूपको व्यवस्थापन गरिदिन मागसमेत गरेका छन् । कार्यालयमा चुस्त दुरुस्त सेवा प्रदान गर्ने भनेर इन्टरनेटको प्रयोग भए पनि सेवाग्राहीले डिजिटल प्रविधिका नाममा झनै झन्झट बेहोर्नु परेको छ ।