लक्ष्मीमार्ग/ धितोको नाममा हुने राजीनामा पास बेलबारी नगरबासीको लागि ठूलो समस्याको रूपमा देखिएको छ । एक व्यक्तिलाई धितोको नाममा गरिएको राजीनामा पास गर्ने क्रम धेरै व्यक्तिसम्म पुग्न थालेपछि यो समस्याले विकराल रूप लिन थालेको छ ।

निरक्षर र बैङ्किङ पहुँचको अभावमा गाउँघरका नागरिक गर्जो टार्न साहुसँग ऋण माग्छन् । साहुले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन पास गरेपछि सयकडा ३६ प्रतिशत ब्याजसम्ममा लगानी गर्दै आएका छन् । यसका लागि जसले मध्यस्थता गराउँछ, उसले दुवै पक्षबाट पाँच–पाँच प्रतिशत कमिशन पाउँछ । मिटर ब्याजले मात्र नपुगेर बिचौलिया र साहु मिलेर सोझा नागरिकको जग्गा हत्याउने प्रपञ्च गर्दा धेरै नागरिक घर, धनसम्पत्ति गुमाएर सडकमा पुगेका भेटिन्छन् ।

यसबाट धेरै सङ्ख्यामा सर्वसाधारण प्रभावित भएका छन् । यसलाई तत्कालीन र दीर्घकालीन रूपमा समाधान खोजिने सरोकारवालाको भनाइ छ । संवाद समूहले बिहीबार बेलबारीमा आयोजना गरेको संवादमा बैङ्किङ कारोबारलाई सहज नबनाउँदा यो विषय समस्याको रूपमा रहेको कार्यक्रममा सहभागीहरूले औंल्याइएका छन् । ‘यी लेनदेनका मुद्दामा न्यायिक समितिको क्षेत्राधिकार नभए पनि न्याय नमरोस् भनेर हाम्रो न्यायिक समितिले दुवै पक्षसँग छलफल गराएर समाधानको बाटो खोज्ने गरेका छौँ, जसमध्ये केहीलाई न्याय दिलाउन सफल भएका छौँ’ –बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली बताउँछिन् ।

बेलबारी–४ का हीरालालले घर जग्गा धितोको नाममा रजिष्ट्रेशन पास गर्नुअघि तीन लाख रुपैयाँ ऋण लिएको र तीन वर्षभित्रमा ११ प्रतिशतले ब्याजसहित रकम फिर्ता गर्ने र जग्गा फिर्ता हुने कागज गरे । यो कागज गरेको पनि चार वर्ष बितिसकेको छ । ३ लाख रुपैयाँको कागज गरेर घरजग्गा पास गरिदिए पनि हीरालालले २ लाख ७० हजार रुपैयाँ मात्रै पाए । ३० हजार रुपैयाँ उनले पहिले नै कबुल गरेको कमिशन बापतको रकम महेन्द्र तामाङ र अब्दुल राईलाई बुझाए ।

तीन वर्षमा तीनलाख रुपैयाँ ब्याजसहित फिर्ता गर्ने कागजअनुसार तीन वर्षपछि पैसा लिएर पशुपति राईकोमा हीरालाल गए तर पशुपतिले आज–भोलि भन्दै जग्गा फिर्ता गरेनन् ।

दुई वर्षपछि धरानस्थित प्राइम बैङ्कको शाखा कार्यालयले घरजग्गा लिलामी भएको र घरबाट हट्न भन्दै पत्र पठाएपछि हीरालालको परिवारले बल्ल थाहा पायो । ‘पशुपतिले १५ लाखमा बैङ्कमा राखेर नतिरेपछि बैङ्कले लिलामको सूचना गरिसकेको रहेछ, यो खबर सुन्दा आफू छाँगाबाट खसेजस्तो भयो’ –हीरालालकी श्रीमती दिलमाया विश्वकर्मा बताउँछिन् । हीरालालभन्दा बेलबारी –४ कै अप्सरा गुरुङको अवस्था झन् दर्दनाक छ ।

उनको त झन् घरजग्गा लिलामै भइसक्यो । उनीजस्तै सयौंको सङ्ख्यामा धितो कारोबारीबाट पीडितहरू छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले लेनदेनको विषय प्रहरीको प्राथमिकतामा नपर्ने बताए । ‘अहिले आएका धितोसँग सम्बन्धित विषय कुनै पनि प्रहरीसँग सम्बन्धित छैनन्, यो लेनदेनको कुरा भएकोले प्राथमिकतामा पर्दैन’ –उनले भने । उनी भन्छन्, ‘लेनदेनमा ठगी भएको कागज पुगेको अवस्थामा भने मुद्दासमेत चलाउन सकिनेछ ।’

नगरपालिकाकी कानून शाखा प्रमुख तारा भट्टराईले नगरपालिकामा यस प्रकारका १० वटा मुद्दा दर्ता भइसकेको बताइन् । राजीनामा, दृष्टि बन्धकलगायत कानूनी प्रक्रियाको बारेमा नागरिकलाई बुझाउन नसक्दा उनीहरूको जायज्यथा अरूको नाममा पुग्ने गरेको पाइएकाले यस बारेमा सर्वसाधारणलाई बुझाउने र साक्षी वा उसको घरपरिवारका व्यक्तिहरू झिकाएर थप सोधीखोजी गर्न मालपोत कार्यालयले पहल थाल्ने पनि संवादबाट निष्कर्ष निकालेको संवाद समूहले जनाएको छ ।