विराटनगर / बालमैत्री महानगरपालिका घोषणा गरेको विराटनगरमाश्रमिक बालबालिकाहरू भेटिएका छन् ।
प्रदेश १ को राजधानी रहेको शहर विराटनगरका होटलमा बालश्रमिक प्रयोग गरिएको भेटिएको हो । विराटनगर महानगरपालिका र सिविन बाल हेल्पलाइन नेपालले विराटनगरका होटलमा शुक्रबार गरेको संयुक्त अनुगमनको क्रममा पाँच होटलमा पाँचजना श्रमिक बालबालिकाहरू भेटिएपछि उद्धार गरेको बाल हेल्पलाइन नेपाल विराटनगरका प्रमुख वासुदेव अधिकारीले जानकारी दिए ।
अनुगमन टोलीले विराटनगरको हाटखोला चौकस्थित याङआउट क्याफे, हस्पिटल चौकमा रहेको विराट होटल, गोल्छाचौकबाट सिक्किम मःमः पसल, आयल निगमअगाडि रहेको न्यू मनकामना होटल र हस्पिटल चौकबाट नाम नखुलेको होटलबाट बालश्रममा प्रयोग गरिएका बालबालिकाको उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकाहरू १३ देखि १५ वर्ष उमेर समूहका रहेका छन् । उद्धार गरिएका बालबालिकाहरूलाई विराटनगरस्थित बाल हेल्पलाइनमा राखिएको छ ।
०७३ वैशाख ३१ गते विराटनगर महानगरपालिकालाई बालमैत्री घोषणा गरेको थियो । त्यसबेला १ हजार १ सय २२ जनाश्रमिक बालबालिकाहरूको उद्धार गरेपछि घोषणा गरेको थियो । ठूलै तामझामका साथ बालमैत्री महानगर घोषणा गरे पनि अहिले बालश्रमिकको प्रयोग भेटिएको छ ।
अझै पनि विराटनगरमा बालबालिका बालश्रममा प्रयोग भएको बताइन्छ । कानूनबमोजिम १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि बहानामा श्रममा लगाउन पाइँदैन । तर यहाँका होटलहरूमा बालश्रमको प्रयोग गरिएको भेटिएको हो । पटक–पटक बालबालिकालाई काममा प्रयोग नगर्ने भनिए पनि होटल तथा केही उद्योगहरूले बालबालिकालाई श्रममा लगाउन छाडेका छैनन् ।
श्रमिक बालबालिकाहरूको उद्धार गरेपछि उनीहरूका अभिभावकलाई बोलाउने काम भएको विराटनगर महानगरपालिकाको बालबालिका शाखाका किरण न्यौपानेले बताए । बालश्रमिक प्रयोग गरिएका होटलमाथि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए । ‘भर्खर खोलिएका होटलहरूमा बालश्रमिक प्रयोग गरेको भेटियो’ उनले भने, ‘बालश्रमिकहरूको उद्धार पनि गरेका छौं । उनीहरूलाई अहिले बाल हेल्पलाइनमा राखिएको छ ।’ विराटनगरका होटल तथा ग्यारेजहरूमा बालश्रमिक राखेको जानकारी आएपछि उद्धार गरी बालश्रमिक राख्नेहरूमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको उनले बताए ।
बालमैत्री महानगरपालिका घोषणापछि दीर्घकालीन रणनीतिक योजना बनाएर अहिले काम अगाडि बढाएको उनले बताए । ‘अहिले पनि बालश्रमिकको उद्धारमा महानगरपालिका लागिपरेको छ’ उनले भने, ‘महानगर क्षेत्रमा केही श्रमिक बालबालिका देखिएकोले अहिले रेस्क्यु टिम बनाएर उद्धारमा लागेका छौं ।’ बालमैत्री महानगरपालिका घोषणा गर्दा २ सय ५४ जना श्रमिक बालबालिकालाई परिवारमा पुनःस्थापन गराउनु पर्ने थियो । तिनै बालबालिका छिटपुट रूपमा श्रमिक रहेको हुनसक्ने भएकोले अभियानको रूपमा अहिले अनुगमन गरिएको उनले बताए ।