विराटनगर/ अन्तर्राष्ट्रिय नेटर्वक बनाएर अनलाइन सपिङको नाममा लाखौं रुपैयाँ ठगी गर्ने गिरोहका मुख्य नाइकेसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँसहित उनीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
ठगीमा संलग्न मुख्य गिरोह मोरङ सुन्दरहरैंचा नगरपालिका–३ का ३६ वर्षीय विशाल अर्याल भन्ने निरञ्जनप्रसाद आचार्य, खोटाङ जन्तेढुङ्गा गाउँपालिका–४ का २२ वर्षीय शिवजी खड्का, सोही ठाउँकी २० वर्षीया देवी चौंलागाईं, धरान नगरपालिका–२० विष्णुपादुकाकी २० वर्षीय भावना राई, सोही ठाउँकी १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई केही दिनअगाडि विभिन्न मितिमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये ठगका मुख्य गिरोह आचार्य रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बेस्ट बाई नामक फेसबुक पेजबाट सामान अर्डरका नाममा पैसा लिँदै सम्पर्कविहीन हुने निरञ्जनले अन्य सातजनालाई परिचालन गर्दै आएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । युवतीहरूले भने बैङ्क खाता खोल्नका लागि नागरिकता दिएका थिए । चौंलागाईं र खड्काले भने बैङ्कबाट पैसा निकाल्ने काम गर्दै आएका थिए ।
बेस्ट बाई नामक फेसबुक पेजबाट सामान अर्डरका नाममा पैसा लिँदै सम्पर्कविहीन हुने निरञ्जनले अन्य सात जनालाई परिचालन गर्दै आएका थिए । निरञ्जनको समूहको नेटवर्क भारतमा पनि छ । आचार्यले आफू भारतीय एजेण्टको कर्मचारी भएको बताएका छन् । प्रहरीका अनुसार आचार्यले विभिन्न बैङ्कमार्फत् एक करोडभन्दा बढी रुपैयाँ भारतीय पक्षलाई बुझाएको स्वीकार गरेका छन् । उनले अर्डरमा आफ्ना लागि ५ प्रतिशत कमिसन मात्र आउने बताएका छन् । भारतीय आधारकार्ड पनि बनाएका आचार्यको नेपाल र भारतमा बैङ्क खाताहरू छन् । उनले १७ जना व्यक्तिको ७८ वटा छुट्टाछुट्टै बैङ्क खाता खोलेका छन् ।
प्रहरीका अनुसार निरञ्जनको मात्र ११ वटा बैङ्क खाता पाइएको छ । वर्षा कार्कीको १४, लक्ष्मी कार्कीको १३, सानु गौतमको २२ वटा बैङ्क खाता छ । उनीहरूले नाम परिवर्तन गर्दै एउटै बैङ्कमा तीनवटासम्म खाता खोलेका छन् । पक्राउ पर्ने डरले कारोबार भइसकेपछि भने ती बैङ्कका खाता बन्द गर्दै आएका छन् । युवतीहरूलाई एक बैङ्कमा खाता खोलेबापत २ हजार रुपैयाँ दिने र चेक आफूले प्रयोग गर्दै आएका थिए । यसरी खोलेका खाताहरू ग्राहकबाट पैसा उठाइसकेपछि भने बन्द गर्ने गरेका थिए । ग्राहकबाट बैङ्कमा जम्मा भएको रकम निकाल्नका लागि शिवजी खड्का र देवी चौंलागाईंलगायतलाई प्रयोग गर्दै आएका थिए । विशालले भने भारतीय बैङ्कहरूमा पैसा जम्मा गर्ने गरेका थिए ।
प्रहरीले खड्काको साथबाट ४२ हजार ५ सय, कोठाबाट ७ लाख १३ हजार रुपैयाँ बरामद गरेको थियो । निरञ्जनको साथबाट २६ हजार नगद र उनका जेठानले जम्मा गरेको ४१ लाख ९८ हजारसहित जम्मा ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ बरामद गरेको थियो । अनुसन्धानका क्रममा खड्का र आचार्यको घर र कोठाबाट २५ वटा नेपाली र पाँच भारतीय बैङ्कका सिमकार्ड भेटिएको थियो । ५८ वटा बैङ्कका चेकबुक र १५ वटा खाली चेकबुक पनि भेटिएको थियो । त्यस्तै सरकारी नक्कली कागज पनि फेला परेको थियो ।
यसरी खुल्यो गिरोहको ठगी धन्दा
काठमाडौंमा बसोबास गर्दै आएकी छत्रकुमारी धमलाले सनराइज बैङ्कमा खाता खोलेको जानकारी छैन । उनलाई जानकारी नभई खुलेको बैङ्क खाता बन्द हुँदा पनि उनले थाहा पाइनन् । तर उनको नाममा खुलेको बैङ्क खाताबाट ठगिएको भन्दै एक व्यक्तिले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।
उजुरीपछि अनुसन्धान गरेको प्रहरीले धमलालाई बोलाएर अनुसन्धान गरेको थियो । उनको नाममा विराटनगरबाट बैङ्क खाता खुलेको थियो । विराटनगरबाट सिमकार्ड पनि निकालिएको थियो । अनुसन्धानका क्रममा उनको नागरिकता अरूले नै लगेर बैङ्क खाता खोलेको खुलेको थियो । छत्रकुमारीको खाता खुलेपछि अनुसन्धान शुरु गरेको प्रहरीले गिरोहलाई पक्राउ गरेको हो । सोही अनुसन्धानका क्रममा सिभिल बैङ्कको एटिएमबाट खड्का पक्राउ परेपछि ठगी गर्नेहरू पक्राउ परेका हुन् ।
प्रहरीले भारतमा बसेर नेपालमा गिरोह सञ्चालन गर्नेहरूमा मिश्रा राजुभाइ, राजाराम त्रिपाठी, राजेश विश्वास जहेब हुसेन, कुनाल थमन, नमु श्रीकान्त, कङ्किता थमन रनदप्रसाद साहलगायतका व्यक्तिहरू संलग्न रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिताअनुसार ठगी, बैङ्किङ कसूर, सरकारी छाप कीर्ते, दोहोरो नागरिकता र सङ्गठित अपराध ऐन अन्तर्गत मुद्दा चलाउन लागिएको अधिकारीले जानकारी दिए ।






























