धरान । दुई वर्षको उतारचढावपछि नेपाली ठूलो अलैँची (बिग कार्डामम) को निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट ६३ लाख ८५ हजार ८ सय ७० केजी अलैँची निर्यात भएको छ, जुन पछिल्ला तीन आर्थिक वर्षकै सबैभन्दा बढी हो ।
आर्थिक वर्ष २०८०/०८१ मा नेपालबाट ५० लाख १८ हजार ३ सय ३५ केजी अलैँची निर्यात भएको थियो । त्यसपछि २०८१/०८२ मा निर्यात घटेर ४३ लाख ८ सय किलोग्राम मा सीमित भएको थियो । तर २०८२/०८३ मा निर्यात एकै वर्षमा झण्डै २० लाख केजी बढेर ६३ लाख ८५ हजार ८ सय ७० केजी पुगेको हो ।
मूल्यका आधारमा पनि निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । २०८०/०८१ मा करिब ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो । २०८१/०८२ मा निर्यात मूल्य घटेर ७ अर्ब ६८ करोड रुपैयाँमा सीमित भयो । तर २०८२/०८३ मा भने निर्यात मूल्य १२ अर्ब ६३ करोड ६९ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
तीनै आर्थिक वर्षमा भारत नेपाली अलैँचीको प्रमुख बजार बनेको छ । २०८२/०८३ मा मात्रै भारततर्फ ६३ लाख ८५ हजार ८ सय ७० किलोग्राम अलैँची निर्यात भएको छ । यसबाहेक इटाली, जापान र रुसमा पनि सीमित परिमाणमा अलैँची निर्यात भएको छ ।
त्यस्तै, २०८१/०८२ मा अष्ट्रेलिया, फ्रान्स, स्वीट्जरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) तथा २०८०/०८१ मा अष्ट्रेलिया, फ्रान्स, पाकिस्तान, यूएई र जापानमा नेपाली अलैँची निर्यात भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली ठूलो अलैँचीको माग बढ्दै जाँदा निर्यातमा पुनः उच्च वृद्धि देखिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।