धरान /  प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई आज दिउसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगतै जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दिउसो पाखराको लेखसाईबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीको पक्राउ अनुमति पछि प्रहरीले गण्डकी प्रदेश सभाका सभामुखलाई जानकारी दिएर गुरुङलाई उनको डेराबाट नियन्त्रणमा लिएको हो । माननीयलाई पक्राउ या कारवाही गर्नु पर्दा सभामुखबाट अनुमति लिनु पर्ने कानुनी प्रावधान रहेको छ ।
सार्वजनिक स्थलमा अखिल नेपाल फुटबल संघ(एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको भन्दैं हिजो प्रहरीमा जाहेरी पछि ‘अभद्र व्यबहार तथा कुटपिट’ मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले मंगलबार गुरुङलाई झापड हानेका थिए ।

खेलाडीहरुको खाने बस्ने व्यवस्था आफूले मात्र नभइ कमिटीले नै गर्ने विषय भएको तर सांसद मनाङ्गेले वार्ता गर्नुको साटो खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै जाहेरीमा मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गरिएको थियो । चाढै पक्राउ गरि कारवाही प्रक्रिा अघि बढ्ने एसपी कार्कीले जानकारी दिए । उनी मनाङबाट प्रदेश सभामा स्वतन्त्र उम्मेद्वार भएर विजयी भए पछि नेकपामा प्रवेश गरेका थिए ।