दमक/ २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।

डिसेम्बर ३ तारिखका दिन मनाइने दिवस नेपालमा पनि जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइएको छ । ‘दीगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ मङ्गलबार यो दिवस मनाइएको हो । संयुक्त राष्ट्र सङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा नेपालमा सन् १९९२ देखि दिवस मनाउन थालिएको हो ।

तर, अपाङ्गहरू दिवस मनाइरहँदा पनि आफ्नोे पीडा सुन्ने कोही नभएको गुनासो गर्छन् । सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हक सुनिश्चित गर्ने प्रतिबद्धतासहित अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ ल्याएको दुई वर्ष भए पनि उनीहरूको अवस्थामा खासै सुधार हुन सकेको छैन । अपाङ्गता भएका व्यक्तिहरूको शिक्षाका लागि समावेशी शिक्षा नीति–२०७३ जारी गरिएको छ ।

सार्वजनिक संरचना, सेवा प्रणाली, यातायात सेवा र सूचना तथा सञ्चार सेवा अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त र सहज बनाउन प्राविधिक मापदण्डसहितको ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका–२०६९’ लागू भएको छ । पछिल्लो समयमा झण्डै ३७ वटा ऐन निर्माण भइसकेका छन् । सिमान्तकृत वर्गहरूको सूचीमा अग्रपङ्क्तिमा रहेको ठानिने यो वर्गले शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, व्यक्तिगत स्वतन्त्रता र सामाजिक सुरक्षा जस्ता आधारभूत अधिकारहरूको उपयोगमा विभेद, असमानता र अवरोधहरूको सामना गर्नु परिरहेको बताउँछन् । उनीहरूका अनुसार सार्वजनिक भौतिक संरचना, शिक्षण संस्था, सूचना तथा सञ्चार माध्यम, सार्वजनिक यातायातमा पनि सुविधा पाइएको छैन ।

नेपालको संविधान, कानून र नीतिहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न अधिकार, सेवा सुविधा, अवसर, विशेष व्यवस्था र सहुलियतहरू प्रदान गरेको भए पनि ती प्रावधानहरू व्यवहारमा लागू हुन नसकेको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो छ । झापाको दमकमा दिवसको अवसरमा दमकका खगेन्द्र दाहाल अझै पनि अपाङ्गता भएकाहरूले पाउनुपर्ने सुविधा नपाएको गुनासो गरे । उनी भन्छन् ‘बसमा अपाङ्गका लागि सिट भनिएको हुन्छ तर त्यहाँ साङ्ग नै बसेको देखिन्छ ।’ बसका कर्मचारीले समेत आफ्नै बसमा लेखेको त्यस्ता कुराका कार्यान्वयन गराउन सकिरहेका छैनन् ।

अपाङ्गता भएकाहरूसँग पनि क्षमता हुन्छ र उनीहरूले पनि अरूले बराबर काम गर्न सक्छन् भन्ने सोच सबैमा आउन अझै पनि नसकेको र अपाङ्गता भएकाहरूलाई गरिने व्यवहारमा अझै पनि पूर्ण रूपमा परिवर्तन आउन नसकेको राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश १ की सदस्य दुर्गा भण्डारी बताउँछिन् । उनका अनुसार सरकारी कार्यालयमा कति प्रतिशत अपाङ्गता भएकाहरूले काम पाएका छन् ? यहाँ क्षमता र चाहना हुँदा हुँदै पनि अवसर दिँइदैन । दिवस मनाइरहँदा अधिरकार प्राप्त व्यक्ति र संस्थाहरूले यसतर्फ पनि ध्यान दिन जरुरी देखिन्छ ।