नेपालमा उपनिर्वाचनको माहौल बन्दै गर्दा पश्चिम नेपालको भूभाग भारतको नक्सामा समावेश भएको विषयले यति बेला चर्चा पाएको छ । बेला बेलामा नेपाली भूभाग भारतले मिचेको समाचार आउने गरेका छन् । जङ्गे पिलर नेपालतिर सार्ने भारतको रोग नै हो । हुँदा हुँदा पछिल्लो समय नेपाली भूभाग नै भारतको नक्सामा समावेश भएको सार्वजनिक भएपछि नागरिकस्तरमा भारतप्रति नकरात्मक सोच पैदा भएको छ । भारतले नेपालको भूमि मिचेको विरुद्ध नागरिक एकमत भई विरोधका स्वर निस्केका छन् । देशव्यापी रूपमा भारतको मिचाहा प्रवृत्तिको विरोधमा भएको सङ्गठित विरोधले राष्ट्रप्रति सबै नागरिकको सद्भाव रहेको र चिन्तित भएको सन्देश पनि उजगार गरेको छ ।

नागरिकको चिन्ता, भारतीय प्रधानमन्त्रीको पुत्ला दहन अर्थात् भारत विरोधी उत्तेजित गतिविधि सिमाको विषयमा देखिएको विवाद समाधानको उपाय होइन ।यसले सरकारलाई अप्ठेरो मात्र पर्ने हो । छिमेकी शक्तिशाली राष्ट्रलाई चिढाउने काम मात्र हो । यसका लागि सबै दल नागरिक समाज मिलेर गरिने कुटनीतिक पहल मात्र विकल्प हो भन्ने कुरा शासकहरूले बुझ्नुपर्दछ । नागरिकमा भएको आक्रोशलाई मत्थर बनाउन राज्यको तर्फबाट कुटनीतिक पहल तत्काल थालिनुपर्दछ । भारतले धेरै ठाउँमा नेपाली सीमा अतिक्रमण गरेका उदाहरण छन् । पछिल्लो समय त कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो आधारिकारिक नक्सामा राखेको छ । सार्वभौम अधिकार सम्पन्न राष्ट्रमाथि भारतले धावा बोल्दा नेपालीजन भारत प्रति आक्रोशित हुनु अस्वाभाविक होइन ।

विगतमा पनि भारतको हेपाहा प्रवृत्तिको कुनै शासकहरूले खुलेर छलफल तथा विरोध गर्न हिक्मत गर्दैन थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समावेश हुनु गलत हो भन्न सकेका छन् । त्यसलाई कूटनीतिक माध्यमबाट सच्याउन र नेपाली भूमिबाट भारतीय सेना हटाउन लगाउन सरकारलाई साथ दिन सबै दलका नेताहरू पनि एकमत हुनु गौरवको कुरा हो । राष्ट्र रक्षाका लागि फुटेर हैन जुटेर लड्नुपर्छ भन्ने सन्देश दलहरूले दिएका छन् । अङ्ग्रेजहरूले भारतमा राज गर्दादेखि नै नेपाल भारतबाट प्रताडित छ । दुई तिहाई बहुमतको सरकारले भारतको मिचाहा प्रवृत्तिलाई व्यवस्थापन गर्ने हिम्मत गरेर नेपाली जनताको आक्रोशलाई मत्थर बनाउन सक्नुपर्दछ । सरकार र दलहरूले विरोध गरेर मात्र यो समस्या समाधान हुने होइन । भारतीय शासकसँग कुटनीतिक पहल गरेर समस्या सुल्झाउन सरकार अग्रसर हुनुपर्दछ ।