अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको फिल्म ‘घामड शेरे’ ले अहिले तनावै तनावको सामना गर्नुपरेको छ । मल्टीप्लेक्समा कम सोज पाएपछि कात्तिक ८ बाट हुत्तिएर दुई हप्ता पछाडि (कात्तिक २२) धकेलिएको यो फिल्म यतिबेला विवादमा तानिएको छ । फिल्ममा निश्चलले निर्वाहा गरेको पात्र (शेरे) को नाम कांग्रेस सभापति शेरबहादुर देउवासँग जोडेर सामाजिक सञ्जालमा ट्रोल बनेपछि फिल्म विवादमा झेलिरहेको हो ।

सामाजिक सञ्जालमा फिल्मको पोस्टर र नेता देउवाको फोटो जोडेर बनेका ट्रोल केही दिनयता निकै भाइरल भएका छन् । यसले नेता देउवाको व्यक्तित्वमा आँच पुगेको भन्दै कांग्रेसको भातृ संगठन नेवि संघले सुदूरपश्चिममा फिल्म प्रदर्शन नै गर्न नदिने घोषणा गरेको छ । त्यस्तै, निर्माण टिमलाई सामाजिक सञ्जालमा विभिन्न खाले धम्की पनि आएको छ । फिल्मका निर्देशक हेमराज विसीले केही दिनदेखि आफूलाई फेसबुकमा ज्यान मार्ने धम्की आइरहेको बताए ।

बुधबार राजधानीमा आकास्मिक पत्रकार सम्मेलन गर्दै फिल्मको पोस्टरसँग कांग्रेस नेता शेरबहादुर देउवाको फोटो जोडेर सामाजिक सञ्जालमा भइरहेको ट्रोलमा फिल्मका कलाकार, निर्देशक, निर्माता र प्राविधिक कसैको पनि संलग्नता र समर्थन नभएको निर्देशक विसीले जारी गरेको विज्ञप्तीमा स्पष्ट पारिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘फिल्मको प्रमुख पात्र शेरेको चरित्र, व्यबहार र कार्यशैली राजनीतिक प्रकृतिको छैन ।’

फिल्मको नामलाई जोडेर सामाजिक सञ्जालमा भएको ट्रोलका कारण कांग्रेस नेता शेरबहादुर देउवाको व्यक्तित्वमा पर्न गएको असर र असुविधाप्रति निर्माण कम्पनी ‘विसी मोसन पिक्चर’ ले क्षमा पनि मागेको छ । सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस प्रकारको ट्रोल नगर्न र बनाउन पनि विज्ञप्तीमार्फत् अनुरोध गरिएको छ । निर्देशक विसीले बिहीबार गरिन लागेको प्रिमियरमा कांग्रेस नेतालाई फिल्म हेर्नका लागि बोलाउने प्रतिवद्धता जनाएका छन् ।

फिल्मको विवादबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग बुधबार फोनमा कुराकानी भएको उनले बताए । प्रवक्ता शर्मासँग भएको कुराकानीबारे जानकारी दिँदै उनले भने- ‘मैले फिल्मको प्रमुख पात्र शेरेको चरित्र, व्यबहार र कार्यशैली राजनीतिक प्रकृतिको नभएको जानकारी गराएपछि उहाँले फिल्मलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’ उनले सुदूरपश्चिममा विना अवरोध दर्शकले फिल्म हेर्न पाउनेमा आफू आशावादी रहेको बताए ।

‘दुई रुपैयाँ’ फेम्ड अभिनेता आसिफ शाहले ‘घामड शेरे’ को पोस्टरसँग नेता देउवाको फोटो जोडिएको ट्रोल आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेपछि विवादले उग्र रुप लिएको हो । उक्त ट्रोलले नेता देउवाको व्यक्तित्वमा आँच पुगेको भन्दै विवाद उत्पन्न भएपछि उनले केही घण्टामा नै फेसबुकबाट पोस्ट हटाए र माफी मागे । तर, उक्त ट्रोल सामाजिक सञ्जाल एकाएक भाइरल बन्यो । जसका कारण फिल्मको टिमले तनाव झेल्नु परेको छ ।

साभारः फिल्मीखबर