विराटनगर/ मिस र मिसेस कोशीको फाइनलमा पुगेका प्रतियोगीहरूले प्रतिभा प्रदर्शन छन् । मिस कोशीका ७ र मिसेस कोशीको फाइनलमा पुगेका ११ जना प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा देखाएका हुन् ।

जय मिडिया म्यानेजमेण्ट प्रालिले आयोजना गरेको पाँचौं संस्करणको मिस र तेस्रो संस्करणको मिसेस कोशीको फाइनल यही असोज १७ गते इटहरीस्थित इम्पेरियल लाउञ्जमा हुँदैछ । फाइनलमा पुगेका प्रतियोगीहरूले मिस ट्यालेण्ट राउण्ड अन्तर्गत उनीहरूले आफ्नो रूचिअनुसारको प्रतिभा देखाएको जय मिडिया म्यानेजमेण्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए ।

प्रतियोगीहरूले नृत्य, गायन, कविता प्रस्तुत गरेका थिए । प्रतिभा देखाएकामध्ये मिस र मिसेसका १–१ जना उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगीलाई ‘मिस ट्यालेण्ट’ अवार्ड शुक्रबार हुने फाइनलको दिन वितरण गरिनेछ । यसअघि फाइनलमा पुगेका प्रतियोगीहरूले फोटोसुट पनि गरिसकेका छन् ।

मिस ट्यालेण्टको निर्णायकहरूमा मेरिल्याण्ड कलेजका निर्देशक भेषराज पोखरेल, नृत्य निर्देशक मनोज राजवंशी, जय मिडियाका निर्देशक राय, मिसेस कोशीको गतवर्षको विजेता सूचना श्रेष्ठलगायत रहेका थिए ।

पाँचौं संस्करणको मिस कोशीको फाइनलमा इटहरीकी ईश्वरी चोङवाङ, धरानकी सुस्मिता मगर, तेह्रथुमकी रेखा कार्की, इनरुवाकी विपना प्रसाई, बेलबारीकी अनु निरौला र धनकुटाकी झरना बराइली र अनिसा मगर पुगेकी छन् । टपटेनमा पुगेका १८ जना प्रतियोगीहरूबाट १० जना फाइनलमा छनौट गरिएको जय मिडिया म्यानेजमेण्टका प्रशिक्षक निशा खतिवडाले जानकारी दिइन् ।

त्यस्तै तेस्रो संस्करणको मिसेस कोशीको फाइनलमा धरानकी सविता ढकाल, विपना लिम्बू, दीपा सेन्चुरी, तरहराकी दीपा ल्वागुन विश्वकर्मा, इटहरीकी अम्विका कार्की, विराटचौककी पूजा सुनुवार, केराबारीकी रेनुका लिम्बू, बेलबारीकी पवित्रा रायमाझी, विराटनगरकी वातावरण लामिछाने र झुम्काकी अस्मिता परियार तथा ईश्वरा निरौला रहेका छन् ।

मिसेस कोशीको विजेताले नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यस्तै फस्ट र सेकेण्ड रनरअपले क्रमशः ३० र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । गतवर्षको मिसेस कोशीको विजेतामा सूचना श्रेष्ठ र मिस कोशीको विजेतामा धरानकी ब्रेनी ताम्राकार घोषित भएकी थिइन् ।

Dance-4