विराटनगर/ फुस्रे, धरान, घुडाँसम्म आउने बुट । थाप्लोमा नाम्लो, ढाडमा डोको र खुकुरी बोकेर तीन किशोर जङ्गलतिर लाग्छन् । झट्ट हेर्दा उनीहरू घाँस, दाउरा खोज्न जङ्गलतिर लगाएको अनुमान लगाउन सकिन्छ । तर, तपाईं हामीले लगाएको अनुमान भन्दा फरक छ । उनीहरू पढाइ खर्च जोहो गर्न सिजनमा उत्पादन हुने तामाको खोजीमा हिँड्ने गरेका छन् ।

धरान–४ फुस्रे का तीन जना किशोरले पढाइ खर्च जोहो गर्न स्कूल विदाको समयमा ‘तामा’ को व्यापर गर्दै आएका हुन् । कक्षा दशमा पढ्ने धरान–४ का किरण मगर, कक्षा ६ मा पढ्ने सोही ठाउँका सन्दिप राई र कक्षा ६ मै पढ्ने सुवास मगर पढाइ खर्च जुटाउन तामाको व्यापार शुरु गरेको एक वर्ष भएको छ । उनीहरू नजिकको जङ्गलमा गएर विहानभरि खाने तामा खोजेर बिक्री गर्दै आएका छन् ।

धरानस्थित पब्लिक माविमा उनीहरू अध्ययरत छन् । स्कूल बिदा भएको दिन तामा खोज्न जङ्गल जाने गरेको किरण मगरले बताए । ‘विहानभरि लगाएर जङ्गलमा गएर तामा खोज्ने गरेका छौं,’ उनले भने, ‘खाना खानुभन्दा अगाडिसम्म एक डोको तामा खोजिसक्छौं ।’ उनीहरूले दिनभरि लगाएर खोजिएको तामा भेडेटार बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

उनीहरूले भेडेटारमा तरकारीको व्यापार गर्ने व्यापारीहरूलाई बिक्री गर्ने गरेको मगरले बताए । तामा खोजेर बिक्री गर्न भेडेतारतिर जाँदै गरेका मगरले भने, ‘दैनिक हामी तीन जनाले ५० देखि ७० केजीसम्म तामा खोज्ने गरेका छौं ।’ उनीहरूले जङ्गलमा गएर दुई खाले तामा खोज्ने गरेका छन् । एउटा तरकारी खाने र अर्को अचार खाने । उनीहरूले खोजी गरेको तामा व्यापारीलाई प्रतिकेजी ५० रुपैयाँले बिक्री गर्ने गरेका छन् ।

‘तामा खोज्दा सबैभन्दा बढी जुकाले सताउने गरेको छ,’ सुवासले दायाँ खुटामा जुकाले टोकेर रगत बगेको देखाउँदै भने, ‘अरू त त्यस्तै हो । एक डोको तामा खोज्दा ५/७ वटा जुकाले टोक्ने गर्दछ ।’ तामा खोजेर बिक्री गरेको पैसा पढाइमा खर्च गर्ने गरेका छन् ।

कक्षा १० सम्म सरकारले निःशुल्क पठनपाठनको व्यवस्था गरिदिए पनि उनीहरूले तामा बिक्री गरेको पैसाले शैक्षिक सामाग्री खरिद गर्ने गरेको किरण मगरले बताए । ‘तामा बेचेको पैसाले आफूलाई आवश्यक पर्ने स्टेशनरीको सामाग्री खरिद गर्ने गरेको छु,’ उनले भने, ‘उब्रेको पैसा खाजा खाने र घरमा दिने गरेको छु ।’ बिदाका दिन तामा खोजेर बिक्री गर्दा एक जनाले पाँच सय रुपैयाँ कमाउने गरेका छन् ।