धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई गत विहीबार राती अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरे पछि प्रतिष्ठान नेतृत्वविहिन भएको छ ।
ठेकेदार सुनिल शर्मासँग आफ्ना भतिजा रामहरि रौनियारको सहयोगमा ८ लाख घुस लिदैं गरेको आरोपमा रौनियार पक्राउ परेका छन् । उनका विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।
उपकुलपति कार्यकारी रहने प्रतिष्ठानमा उपकुलपतिको अनुपस्थितिमा यहाँको दैनिक काममा समस्या परेको कर्मचारीहरुले बताएका छन् । निमित्त उपकुलपति पनि हालसम्म तोकिएको छैन् ।

उपकुलपतिविहीन भएको शिक्षाध्यक्षद्वारा सरकारलाई जानकारी
शुक्रबारदेखि उपकुलपति नभएको विषयमा सरकारलाई आइतबार जानकारी गराइएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरुप्रसाद खनालले जानकारी दिए ।
‘प्रतिष्ठानमा दुखद् घटना भयो । हामीलाई निकै दुख लागेको छ । घट्नाबारे सरकारलाई जानकारी गराएका छौं ।’–शिक्षाध्यक्ष खनालले भने–‘वाँकी निर्णय गर्ने सरकारको कुरा हो ।’
उपकुलपतिको अभावमा यहाँको दैनिक कामकाज प्रभावित भएका छन् । आर्थिक बर्ष अन्त्यतिरको अवस्था भएका कारण समस्या रहेको उनले बताए ।

प्रतिष्ठानले स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा जानकारी आइतबार नै पठाए पनि तत्काललाई निमित्त उपकुलपति तोक्ने काम भएको छैन् । पदाथिकारी नियुत्ति तथा निमित्त दिने अधिकार सरकारलाई रहेको छ ।