धरान  / अविरल वर्षाको कारण देश भर हालसम्म ३० जनाको मृत्य भएको छ । 

अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको हाे । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ । स्थानिय प्रहरी कार्यालय र विपद व्यवस्थापन महाशाखाबाट परिचालित टोली समेबाट उद्धार गरिएको हाे । 

कुन जिल्लामा कति मरे 

बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको ज्यान गएको नेपाली प्रहरीले जनाएकाे छ ।

कुन जिल्लामा कति घाइते
मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते भएका हुन् ।

कुन जिल्लामा कति बेपत्ता
सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

परिचालित प्रहरी 
बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित रहेका छन ।

विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । यसै गरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल समेत अवरोध हटाई हिजो साँझ ७ बजे बाट सुचारु गरिएको त्रि.अ विमानस्थल सुरक्षा गार्ड प्रहरीले जनाएको छ ।