जिरोपोइन्ट । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर १ को नामाकरणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूले प्रदेशमा ह्विप जारी नगर्ने सल्लाह भएको बताएका छन् ।
प्रदेश नम्बर १ को नाम किरात हुनुपर्ने माग गर्दै आएको किरात राई यायोक्खाद्वारा शनिबार धरानमा आयोजित साकेला उँभौलीको समापन समारोहमा बोल्दै दाहालले त्यस्तो बताएका हुन् ।
आफूले पहिलादेखि किरातको पक्षमा बोल्दै आएको भन्दै उनले किरात आफैमा सभ्यता, संस्कृति र मनोविज्ञान भएकाले कसैले मेटेर नमेटिने बताए । उनले आफूले किरात राई समुदायको भावना बुझेको दाबी गर्दै भने, ‘तपाईहरूको भावना मैले बुझेको छु । किराती सभ्यता र संस्कृतिको सम्मान यो पार्टी (नेकपा) ले, नेताले गर्लान् कि नगर्लान् जस्तो लागेको होला, कहिलेकाहीँ के के हो जस्तो पनि लाग्दो होला । अब हाम्रो ध्यान के भने यो विषयमा किराती सभ्यता र इतिहासलाई स्थापित गर्नेमा लागेको छ ।’
किराती इतिहास र सभ्यतालाई स्थापित गर्न बहुमत र अल्पमतले भन्दा सर्वसम्मतको सहमति होस् भन्ने चाहना रहेको उनले बताए । तर उनले आफ्नो लामो भाषणमा १४ जिल्ला समेटिएको १ नम्बर प्रदेशलाई किरात प्रदेश नै बनाउनु पर्छ भनेर भन्न सकेनन् । किरात प्रदेशको नामाकरण हुनुपर्ने माग राख्दै आएको यायोक्खाको साकेला उँभौलीमा उनले सर्वसम्मत सहमति नै खोजिरहे । उनले भने, ‘विवाद र झगडा गरेर सिङ्गो राष्ट्रको एकता, कम्युनिष्ट आन्दोलनको एकता र मुलुकको समृद्धिको आकांक्षामा बाधा नपरोस् भन्ने चाहना छ ।’ उनले आफूले पहिचान र अधिकारको पक्षमा लडेकाले किरात सभ्यता र संस्कृति बारे कुनै अन्यौल नभए पनि किरातको बारेमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र प्रदेश तथा केन्द्रका सांसद्को पनि चासोको विषय बन्नुपर्नेमा जोड दिए । उनले किरात कुनै जातिवादी नभएको स्पष्ट पारे । किरात आफैमा नेपालको गौरवशाली इतिहास भएको उल्लेख गर्दै भने, ‘किराती इतिहास र सभ्यतासँग बाहुन–क्षेत्रीको पनि अस्तित्व जोडिएको छ । यसर्थ तपाईंहरूले साझा सहमतिमा किरात इतिहास र सभ्यतालाई स्थापित गर्न सक्रिय हुनु जरुरी छ ।’
उनले अहिलेको लोकतान्त्रिक गणतन्त्र ०४६ सालको राजतन्त्रसहितको बहुदलीय व्यवस्थाजस्तो नभएर राजतन्त्रविहीन गणतन्त्र भएको बताए । उनले किरात सभ्यताको पहिचान दिनको लागि सबैसँग अझै छलफल गरिरहेको बताए ।
किरात र किरातीले इतिहासमा काठमाडौंसम्म पुगेर आफ्नो संस्कृति, कला र क्षमतालाई स्थापित नगरेको भए नेपाल राष्ट्र बन्न सम्भव नरहेको समेत उनले उल्लेख गरे । उनले अहिलेको नेपाल निर्माणमा किरातीहरूको भूमिका युगान्तकारी र ऐतिहासिक रहेकोले त्यसलाई कसैले चाहेर पनि मेटाउन नसक्ने बताए ।
उनले प्रदेश नम्बर १ को नामाकरण गर्दा किरातहरूको भावना र इतिहासलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । इतिहासलाई हेर्दा पहिचानका उग्र विरोधी शासकहरूले पनि किरात भन्ने विषयलाई नकार्न नसकेर वल्लो किरात, पल्लो किरात र माझकिरात भन्ने गरेको भन्दै उनले कम्युनिष्टहरूले पृथ्वीनारायण शाहभन्दा पछि हटेर किरात सभ्यतालाई हटाउन कदापि नसक्ने र हटाउन पनि नहुने बताए । किरात विषयलाई हटाएर गरिएको सहमति सहमति हुन नसक्ने पनि उनले उल्लेख गरे । किरातीहरूले निरन्तर अभियान र कार्यक्रमहरूले सहमति जुटाउन मद्दत गरिरहेकाले गर्दा जतिसक्दो सक्रिय रहिरहनसमेत उनले आग्रह गरेका छन् । उनले सम्बोधनको अन्तिममा ‘जय किरात’ भने ।
कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले आफूहरूले लामो समयदेखि किरात राज्यका लागि लडिरहेकाले प्रदेश नम्बर १ को नाम किरात राख्न सबै नेताहरूसँग आग्रह गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीप भण्डारी, सङ्घीय सांसद् जयकुमार राईलगायतका नेताहरूको उपस्थिति रहेको कार्यक्रमको सभापत्वि यायोक्खाका जिल्ला अध्यक्ष बलराम राईले गरेका थिए ।