धरान / धरानबाट प्रकाशित दिब्यरोशनी साप्ताहिकले १५ औं वार्षिकोत्सवको अवसरमा तीन पत्रकारसहित ५ जनालाई सम्मानित गरेको छ ।

हरेक वर्षझै उत्कृष्ट सामाजिक पत्रकारिता सम्मानबाट पत्रकार रत्नप्रसाद आचार्य र जमुना श्रेष्ठलाई पुरस्कृत गरिएको हो । त्यस्तै सृजनशील युवा पत्रकारिता पुरस्कारबाट तारा लामगादेलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी ५ हजार ५ सय ५ रुपैयाँसहित सम्मान–पत्र रहेको छ । सामाजिक पत्रकारिता सम्मान गोर्खा इञ्जिनियरिङका सार्जन्ट प्रभुराम राईको नाममा स्थापित गरिएको हो भने युवा पत्रकारिता पुरस्कार बाजुन राईको नाममा स्थापना गरिएको हो ।

स्थापित पुरस्कार साप्ताहिककी सम्पादक/प्रकाशक मनिता चाम्लिङको नाताले बुबा र कान्छा दाजु हुन् । हाल उनीहरू दिवङ्गत भइसकेका छन् । त्यस्तै उत्कृष्ट सामाजिक अभियन्ताबाट सेवक अभियानका अभियन्ता राजीव हलुवाइ र महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईलाई सम्मानित गरिएको छ । उनीहरूलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष बिक्रम लुइँटेल, अग्रज पत्रकार हर्ष सुब्बा, सम्पादक मनिता चाम्लिङले सम्मान–पत्र हस्तान्तरण गरे ।

यसक्रममा सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अग्रज पत्रकार तथा लेखक जनकऋषि राईले उक्त विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।