धरान/ बलिउड अभिनेता सलमान खान ५३ वर्षका भए । तर अहिलेसम्म बिहे गरेका छैनन् ।
 
टाइम्स अफ इण्डियाले भने सलमान सेरोगेसीमार्फत् बाबु बन्ने तयारीमा रहेको रिपोर्ट लेखेपछि उनको बिहेको प्रतीक्षा गर्ने फ्यानहरू चकित छन् । उसो त सलमानले एउटा बयानमा ‘कलाकार बिहेबाट टाढा भाग्छन् ।’ भनिसकेका छन् ।
 
सलमान बच्चालाई खुब माया गर्छन् । उनी आफ्नो खानदानको बच्चासँग गहिरो लगाव राख्छन् । उनले एक अन्तरवार्तामा ‘म असल सन्तान हुँ र असल बाबु बन्न सक्छु । तर, असल पति बन्न सक्दिनँ ।’ भनेका थिए ।
 
सायद, पछिल्लो समय अभिनेताहरूको वैवाहिक सम्बन्ध बिग्रिएर डिभोर्स भइरहेकाले पनि सलमान बिहेबाट तर्किएका हुन सक्छन् । भाइ अरबाज खानको मलाइकासँग १९ वर्षपछि डिभोर्स हुनुले सलमान आफ्नो लागि ठूलो सिकाइ भएको बताउँछन् । एक शोमा उनले भनेका छन् ‘बिहे गरेपछि यस्तो अवस्था आउँछ कि बरु बिहे नगर्दा नै खुसी छु म ।’
 
उसो त सलमानको धेरै अभिनेत्रीसँग अफेयर चल्यो । तर, कुनै पनि टिक्न सकेन । अधुरो सम्बन्धका कारण सलमानको बिहेप्रति वितृष्णा जाग्यो । पार्टनरलाई समय दिन नसकिनेमा डराउने सलमान कतिपल्ट बिहेको नजिक पुगेका थिए । तर, उनले चाहेजति समय दिन सक्दैन थिए ।
 
यद्यपि, आजभोलि बलिउडमा एकल आमाबाबुको कन्सेप्ट प्रचलनमा छ । तुषार कपूर, एकता कपूर, करण जौहरलगायत सरोगेसीमार्फत् आमाबाबु बने । परिवारको सहयोग भएकै कारण यी सेलेब्रिटीलाई सहज भएको छ । सलमान वा उनको परिवारले भने अहिलेसम्म सरोगेसीको खबरबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।